काठमाडौं– नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिले निर्वाचन क्षेत्रहरुमा चुनावी कमान्डर तोकेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन २ मा उनकै छोरी तथा भरतपुर महानगरकी मेयर रेनु दाहाल प्रमुख बनेकी छन्।
माओवादी केन्द्र बागमती प्रदेश समितिको आइतबार बसेको पदाधिकारी बैठकको निर्णयानुसार चितवनकै क्षेत्र नम्बर १ मा कञ्चन खनाल र २ मा घनश्याम दाहाल चुनाव परिचालन प्रमुख तोकिएका छन्।
काठमाडौंका सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन प्रमुख तोकिएका छन्। काठमाडौं १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खे रहेका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काठमाडौं महानगरभित्रको सम्पूर्ण नेतृत्व भने मुक्ति प्रधानले गर्नेछन्।
यसैगरी, भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल, २ को कमान्डरमा दिलीप प्रजापति, ललितपुरमा क्षेत्र नम्बर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र क्षेत्र नम्बर ३ मा हरि दाहाल र पद्मा राई तोकिएका छन्।
यसैगरी काभ्रे जिल्लामा सूर्यमान दोङ र रुकु चौलागाईं, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलाल रहेका छन् भने दोलखामा देवी खड्का र रामेछापमा श्यामकुमार श्रेष्ठ तोकिएका छन्।
धादिङको नेतृत्व शालिकराम जम्कट्टेलले गर्नेछन्। नुवाकोटमा हितबहादुर तामाङले क्षेत्र नम्बर १ र विमला सुवेदीले क्षेत्र नम्बर २ को नेतृत्व गर्नेछन्।
सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी चयन भएका छन् भने मकवानपुरको क्षेत्र नम्बर १ मा विजय गौतम र क्षेत्र नम्बर २ मा कुमारी मोक्तानले नेतृत्व गर्ने निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।