काठमाडौं– निर्वाचनमा हुने खर्चले उम्मेदवार, राजनीतिक दल तथा सरोकारवालाहरू निकै चिन्तित हुने गरेका छन्। उनीहरू निर्वाचन महंगो हुँदै गएको भनेर चिन्ता गर्छन्।
पार्टीका शीर्षस्थ नेताहरूदेखि आमकार्यकर्ताहरू निर्वाचन महंगो भएको र जित्नलाई लाखौं/करोडौं खर्च गर्नुपर्ने अवस्था रहेको बताउने गरेका छन्।
यो विषयलाई २०७४ मा भएको निर्वाचनमा सरकार र दलहरूले गरेको खर्चले पनि पुष्टि गर्छ। निर्वाचन पर्यवेक्षण समितिले २०७४ को स्थानीय तह, संघ र प्रदेश निर्वाचनमा भएको खर्चबारे अध्ययन गरेर बनाएको प्रतिवेदनमा संघ र प्रदेशतर्फ एक मतदाता बराबर ४ हजार ४० र स्थानीय तहतर्फ एक मतदाता बराबर ४ हजार ९२३ खर्च भएको उल्लेख छ।
उक्त प्रदिवेदनका अनुसार २०७४ मा तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा सरकारको तर्फबाट १८ अर्ब ४६ करोड र उम्मेदवार तथा तिनको सहयोगीले ५० अर्ब ९६ करोड खर्च गरेको बताएको छ।
यस्तै, २०७४ को मंसिरमा दुई चरणमा भएको संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार तथा तीनका सहयोगीले ४५ अर्ब ९५ करोड र सरकारको तर्फबाट १६ अर्ब २६ करोड खर्च भएको प्रतिवेदनले देखाएको छ।
समग्रमा २०७४ मा सम्पन्न विभिन्न तहको निर्वाचनमा कूल १ खर्ब ३१ अर्ब ६३ करोड खर्च भएको बताइएको छ। यसमध्ये ९६ अर्ब ९१ करोड राजनीतिक दल र तिनका समर्थकले गरेका थिए भने, ३४ अर्ब ७२ करोड राज्यको तर्फबाट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।