काठमाडौं– नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालाई त्रिवि जोगाउन कडा कदम चाल्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै एमाले सचिव भट्टराईले उक्त धारणा राखेका हुन्। पछिल्लो समय त्रिविको लथालिङ्ग अवस्था र विद्यार्थी संगठनबीचको द्वन्द्वलाई लक्षित गर्दै भट्टराईले उक्त धारणा राखेका हुन्।
२०७७ मा उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको हमलालगायत अनेक बेथितिमा कांग्रेसको भातृ संगठन नेविसंघको हात रहेको भन्दै भट्टराईले उपकुलपतिलाई आफ्नो पदको परबाह नगरी कडा कदम चाल्न आग्रह गरेका हुन्।
‘प्राध्यापक (गुरु) प्रेम चलाऊनेलाई मरणासन्न हुनेगरी कुटपिट कस्ले गर्यो? नेविसंघले। विगत एक वर्षदेखि त्रिविमा तालाबन्दी गरिएको छ। ताला कस्ले लगायो? नेविसंघले। त्रिविका भिसीले आफूले मागेको ५० लाख नदिएको कारण भिसीको कुर्सीमा जुत्ताको माला कस्ले लगायो? नेविसंघले। त्रिवि कार्यकारी परिषद्को बैठकबाट बैठक पुस्तिका र कागजात कस्ले लुट्यो? नेविसंघले। त्रिविले आयोजना गरेको पत्रकार सम्मेलनमा ढुंगामुढा कस्ले गर्यो? नेविसंघले। नेविसंघ कुन पार्टीको संगठन हो? नेपाली कांग्रेसको। आज सरकारको नेतृत्वमा को छ? शेरबहादुर देउवा। शेरबहादुर देउवा को हुन? कांग्रेसका सभापति,’ भट्टराइले लेखेका छन्,‘त्रिविलाई बर्बादी हुनबाट जोगाऔं। उपकुलपति धर्मकान्त बाँस्कोटाजी कडा स्टेप चाल्नुहोस्। त्यही कारण पद जान्छ भने जाओस्, परबाह नलिनुहोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।