काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरु नेतृत्व तहमा जाने कि नजाने भन्ने दोधारमा रहेको बताए। नेपाली कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको उनको भनाइ छ।
अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उनको दाबी छ। नेता भण्डारीले नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको बताउँदै वर्तमान नेपालको राजनीति अहिलेका नेताबाट चल्न नसक्ने दाबी गरे।
उनले देश सञ्चालनका लागि नयाँ नेतृत्त्वको आवश्यकता औंल्याए। उनले भने, ‘जो हरेक पार्टीमा नेतृत्व गर्ने युवाहरु छन्। ती सबै युवाहरु टाउको बन्ने कि पुच्छर बन्ने भन्ने कुरामा अल्मलिएका छन्। पुच्छर बन्न चाहन्छन्, नेतृत्व लिन चाहन्नन्, जसकारण एउटै व्यक्ति अनुहार हेरिरहनुपर्ने, यो अवस्थाबाट नेपाल सफर गरिरहेको छ। नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको छ। यो समस्याबाट मुलुकलाई कसरी निकास दिने यसमा हामीले सोच्नुपर्छ। के वर्तमान नेतृत्वबाट नै मुलुकले निकास पाउँछ? के वर्तमान नेतृत्वबाट हामी अघि बढ्न सक्छौं? मलाई लाग्छ, वर्तमान नेपालको राजनीति वर्तमान नेताहरुबाट चल्न सक्दैन। भोलिका दिनमा उहाँहरुको नेतृत्त्वबाट यो मुलुक अघि बढ्छ भन्ने लाग्दैन। कांग्रेसभित्र परिवर्तनको खाँचो छ। नयाँ नेतृत्वको पनि खाँचो छ।’
नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी गरे। उनले देशका १८ वर्षभन्दा माथिका युवाहरु विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठूलो चुनौती भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।