काठमाडौं– नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई डोजर आतंक नरोके उपत्यका बस्न लायकको नरहने चेतावनी दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन्। उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताए।
केही मानिसले साथ दिए भन्दैमा कानुन मिचेर जनतालाई दुःख दिने काम नगर्न पनि उनले चेतावनी दिएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा ध्वंसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको बस्नेतको दाबी छ।
उनले निर्माणबाट नै सुन्दरता ल्याउन सकिन्छ भन्ने कुरा हेर्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा जान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई सुझाव दिएका छन्।
उनले भने, ‘नक्सापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौं भित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन। बस्न नालायक ठाउँ हुन्छ। भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ। मिडियाका ४ हजार साथि लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानुन मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिइकन जनतालाई दुःख दिने काम नगरौं। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमुना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस्।’
नेता बस्नेतले संविधानमा दुईपटकभन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग गरेका छन्। उनले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक हुने भन्ने नीति नै निर्माण गरेर जानुपर्नेमा जोड दिए। नेता बस्नेतले समानुपातिकतर्फ अनिश्चितकालसम्म अवसर दिने कुरा राम्रो नभएको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।