काठमाडौं– नेकपा एमालेले समानुपातिकको अवसर प्राप्त गरिसकेकालाई यसपल्ट नदोहोर्याउने निर्णय गरेकको छ। समानुपातिक पार्टीको साझा उप्लब्धि रहेको बताउँदै न्यायोचित वितरणका लागि दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
’समानुपातिक मत पार्टीको लोकप्रियताबाट प्राप्त हुन्छ। यो सामूहिक कमाइ हो। बन्दसूची तय गर्दा दामासाही वितरण प्रणाली अर्थात् न्यायोचित वितरण प्रणाली आवश्यक हुन्छ। एकचोटी अवसर प्रयोग गरेकालाई आमरुपमा दोहोर्याएर सिफारिस गर्न पाइने छैन’, उपमहासचिव पृथ्वी सुब्बा गुरुङले निर्णय सुनाउँदै भने।
कुनैपनि तहको निर्वाचनमा यसअघि पराजितलाई आमरुपमा उम्मेदवार नबनाउने पनि निर्णय गरिएको छ। जनाधार भएका हकमा निर्णय लिन सकिने बताइएको छ।
कतिपटकसम्म उम्मेदवार बन्ने भन्ने विषयमा एमालेले तोक्न नहुने निर्णय गरेको छ। ’प्रत्यक्ष निर्वाचन क्षेत्रमा जनाधार, निर्वाचन दाउपेच, लोकप्रियता, निश्चित मत, जित्ने सम्भावना बढी र संसदीय भूमिका समेतलाई लिएर निर्णय गर्नुपर्छ,’ एमालेको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।