दाङ– नेकपा (एकीकृत समाजवादी) का पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नं. १ बाट आफू नै गठबन्धनको साझा उम्मेदवार भएको बताएका छन्।
क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार गृह जिल्ला आइपुगेका मन्त्री चाधरीले पार्टी स्थापना भएको भर्खरै १ वर्ष मात्र पुगेकाले अझै पनि पार्टी निर्माण गर्न र नयाँ साथीहरुलाई पार्टी प्रवेश गराएर उचित जिम्मेवारी दिन ध्यान दिनुपर्ने बताए।
राप्ती करिडोर शिलान्यास भइसकेकाले अब डीपीआरको प्रक्रिया अघि बढ्ने बताएका मन्त्री चौधरीले महदेवाबाट भारतको पचफेडवा बजार जोड्ने बाटो, सिर्सिया नाका खोल्ने लगायतका योजनालाई आफूले प्राथमिकतामा राखेको बताए।
सोही क्रममा उनले भने, ‘तपाईँहरु चुनावको तयारीमा लाग्नुस्। केही समस्या भए भन्नुस्। यति बुझ्नुस् कि यस क्षेत्रबाट गठबन्धनको साझा उम्मेदवार मै हुँ।’
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोगका सदस्य वीरबहादुर केसी, केन्द्रीय कमिटी सदस्य शारदा श्वर्णकार, जिल्ला अध्यक्ष शुरामणि बेल्वासे लगायतले मन्तव्य राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।