काठमाडौं– आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता सुरू भएको छ।
निर्वाचन आयोगमा पहिलो दिन २९ राजनीतिक दलले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले समानुपातिकतर्फ दल दर्ता गरेका हुन्।
यस्तै, प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेश प्रदेशमा २७ दल, बागमती प्रदेशमा २६ दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २६ दल, कर्णाली प्रदेशमा २२ दल र सुदुरपश्चिम प्रदेशमा २३ दलको मनोनयन दर्ता भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
शुक्रबार समानुपातिकतर्फको दलको मनोनयन दर्ताका क्रममा १ नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ। समानुपातिकतर्फ दल दर्ताको समय आउँदो आइतबारसम्म तोकिएको छ।
समानुपातिक निर्वाचन प्रणालीका लागि यसरी मनोनयन दर्ता भएका राजनीतिक दलहरुले असोज २ र ३ गते बन्दसूची पेश गर्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।