काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन्।
मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरुमा डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचनाहरु हटाउँदा अराजकता सिर्जना गरेको भन्दै आपत्तिसमेत जनाए।
गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरुले अराजक गतिविधि गर्न नहुने बताए।
यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाइ छ। उनले भने, ‘हामी आज बजारमा के–के देख्दै छौं त? भत्काउँदै हिँडनु भएको छ नि हैन, मेयर साव। हाम्रो सिष्टमले भनेको त्यो हो त? त्यसको कानुनी प्रक्रिया छैन? अब भोलिदेखि सबै मेयरहरुले भत्काउँदै हिँडने हो भने त। गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ। स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ। तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँडनु भयो भने के हुन्छ? हाम्रो सिष्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौं? हामीले छलफलयता केन्द्रित नगरेको हो कि? हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौं। त्यसलाई विधि अनुसार चलाउनु पर्छ। गल्ती गर्नेलाई पत्र काटे भयो। उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भइहाल्यो। यतातिर ध्यान दिन जरुरी छ।’
नेता विश्वकर्माले गल्ती गर्नेहरुलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भएपनि आतंकित बनाउने काम गरेको गुनासोसमेत गरे। उनले मेयर शाहको यस्तो गतिविधिले राजनीतिक प्रणालीमाथि नै आघात पुर्याउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।