काठमाडौं– आगामी निर्वाचनबाट बहुमतसहित सरकार सञ्चालन गर्नेगरी जित सुनिश्चित गराउने तयारीमा लाग्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तलाई निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसैको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
शनिबारसम्म चल्ने बैठकमा अध्यक्ष ओलीले अहिलेको परिस्थिति र आगामी निर्वाचनपछिको स्थितिका सम्बन्धमा राजनीतिक प्रतिवेदन पेस गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिए।
बैठकपछि नेता रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै सल्लाहकार समितिबाट अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष पुष्प कडेलले र निर्वाचन आयोगका प्रमुख निर्वाचनका तर्फबाट आ–आफ्नो प्रतिवेदन पेस भएको जानकारी दिए।
उनले उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया पनि केन्द्रीय कमिटी बैठकमा पेस भएको बताए। सुरुमा केन्द्रीय कमिटी बैठकमा सातवटा अजेण्डा तय गरिएको उनले जानकारी दिए।
अधिकांशमा छलफल सुरु भएको र भोलिको बैठकले आवश्यक निर्णयहरु गर्ने उनको भनाइ छ। पार्टी कार्यालय च्यासलमा बसेको बैठकले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भएका गलत गतिविधिहरुलाई कारबाहीको सिफारिससम्म गर्न सक्ने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले नेकपा एमालेले तत्कालीन समयमा पनि लोकप्रिय मत ल्याएकाले त्यसमा केही थप मिहेनत गर्नसके आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।