काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रदेस सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिले मातहतका निकायलाई उम्मेदवार सिफारिस गर्ने कार्यविधि र समयसीमा सहितको परिपत्र गरेको छ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले ७७ जिल्लामा उम्मेदवार सिफारिसको मापदण्ड, प्रक्रिया र समायसीमा समेत उल्लेख गरेर परिपत्र गरेका हुन्। एक हप्ताको समयसीमा दिएर मातहतका निकायलाई उम्मेदवारको नाम सिफरिस गर्न कांग्रेसले परिपत्र गरेको हो।
कांग्रेसले प्रदेस सभा सदस्यका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नामावाली भदौ १४ गतेभित्र एक निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला कार्यसमितिमा र एकभन्दा बढी निर्वाचन क्षेत्रभएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने परिपत्र गरेको छ।
प्रदेस सभा क्षेत्रीय कार्यसमिति र सो प्रदेशबाट चयन भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ १ महिलासहित उम्मेदवारको नाम सहमति वा निर्वाचन प्रक्रियामार्फत् सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख गरेको छ।
प्रदेश सभा क्षेत्रीय कार्यसमितिबाट यसरी सिफारिस भई आएका नाममा आफ्नो रायसमेत उल्लेख गरी प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले भदौ १६ गतेभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्ने छ।
एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमार्फत् र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रदेश सभा क्षेत्रीय कार्यसमितिमार्फत् सिफारिस भइ आएका उम्मेदवारको नाममा जिल्ला कार्यसमितिले आफ्नो रायसमेत उल्लेख गरी भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिमा पाठाइसक्नुपर्नेछ।
यसै गरी प्रतिनिधि सभा उम्मेदवारका लागि योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा बढीमा तीन जना र समानुपातिकतर्फको लागि समावेशी सिद्धान्तलाईसमेत ध्यानमा राखी कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरी १६ गतेभित्र जिल्ला कार्यसमितिमा पठाउन परिपत्र गरिएको छ।
प्रतिनिधि सभा सदस्य पदको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नाम सिफारिस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, सो क्षेत्रभित्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले गर्ने छ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्लाभित्र रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरुको संयुक्त बैठकबाट उम्मदवारको नाम सिफारिस हुनेछ। सिफारिस गर्ने बैठकमा सहमति हुन सकेमा सहमतिबाट र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्नुपर्नेछ।
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिबाट यसरी सिफारिस भइ आएका नाममा आफ्नो रायसमेत उल्लेख गरी जिल्ला कार्यसमितिले भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिमा पठाउनेछ ।
प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी भदौ २० गतेभित्र केन्द्रमा पठाइसक्नुपर्ने परिपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।