काठमाडौं– नेकपा एमालेले आगामी निर्वाचनमा मतवृद्धि र मत रक्षा कसरी गर्न सक्छ भनेर अध्यक्ष केपी शर्मा ओलीले उपाय प्रस्तुत गरेका छन्। केन्द्रीय कमिटीमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उनले स्थानीय निर्वाचनमा अपेक्षाअनुरूप परिणाम नआएकोले पार्टीपंतिमा अझै पनि निर्वाचनको धङधङी रहेको बताउँदै उपाय सुझाएका हुन्।
‘आरोप, प्रत्यारोप र आपसी आशङ्का अझै बाँकी छन्। यस स्थितिबाट पार्टीपंतिलाई मुक्त गर्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा केन्द्रित गर्न जरुरी छ,’ ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन्। अध्यक्ष ओलीले मत वृद्धिका लागि केही उपाय समेत प्रस्ताव गरेका छन्।
मतवृद्धिका लागि यस्तो छ ओलीको प्रस्ताव:
- मतदाता नामावली अद्यावधिक गर्ने र दोहोरिएका नामहरू हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण र पहल गर्ने।
- आम जनसमुदायमा पार्टीका नीति र अजेण्डाको व्यापक प्रचार गर्ने।
- एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्ने।
- आपनो शक्ति र सीमामाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने।
- हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ। त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने।
- नयाँ पुस्तामा विशेष ध्यान दिने
यसैगरी मत रक्षा पनि जरुरी भएको ओलीले बताएका छन्। मत रक्षाका लागि पनि उनले निश्चित बुँदा अघि सारेका छन्। ती यसप्रकार छन्:
- आफ्नो मत बदर नहोस् र आफ्ना मानिस कोही पनि मतदानबाट अञ्चित नहोउन् भन्नेमा विशेष सजगता, –कार्यकर्ता परिचालन, युवा परिचालन र स्वयंसेवक टीम निर्माणमा रहन गएका कमीबाट पाठ सिक्दै युवा, विद्यार्थी ट्रेड युनियन, महिला, भूपू सैनिक तथा प्रहरी संगठनका सदस्यहरूलाई यस मामिलामा अधिकाधिक परिचालन गर्न निर्वाचन बुधमा प्रशासनिक संयन्त्रमा रहेकाहरूलाई विश्वासमा लिई काम गर्ने।
- निर्वाचनका प्रत्येक प्रश्नमा निर्वाचन आयोगसँग नियमित सम्पर्क, समन्वय र आयोगको निष्पक्षताको लागि खबरदारी गरिरहने।
- प्रशासनको निष्पक्ष परिचालन गर्न, हामो पार्टीका विरूद पूर्वाग्रही व्यवहार नियन्त्रण गर्न निरन्तर संलग्न (इन्गेज) भइरहने।
- सुरक्षा निकायलाई व्यावसायिक हिसाबले काम सम्पादन गर्न प्रोत्साहित गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।