काठमाडौं– सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अवैध संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को कदममा समर्थन जनाएकी छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै झाँक्रीले अब सबै अवैध संरचना र अतिक्रमणहरु हटाउनुपर्ने बताएकी छन्। आफूले नदी अतिक्रमण गरेर बनेका संरचना हटाउन दबाब झेल्नु परेको उल्लेख गर्दै झाँक्रीले बालेनलाई भने राजनीतिक दबाब झेल्नुपर्ने अवस्था नरहेको बताएकी छन्।
‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।मैले बागमती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।निर्वाचन आएको छ यसले नगरौं भन्ने दबाब आयो र स्थगन गर्न पर्यो,’ झाँक्रीले सामाजिक सञ्चालमा भनेकी छन्, ’स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको थियो।मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ। मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन।’
इमान्दार प्रयास सफल हुने उल्लेख गर्दै पूर्मन्त्री झाँक्रीले भनेकी छन्, ‘म सधैं तपाईंको साथमा छु, तपाईंको पछाडि छु।यसलाई जारी राख्नोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।