विराटनगर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नागरिकता विधेयक प्रक्रियाबाटै टुंगोमा पुग्ने बताएका छन्। उनले प्रतिनिधि सभाबाट पारित भइसकेको उक्त विधेयक राष्ट्रिय सभाबाट प्रक्रियागत रुपमा पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनेमा आफू विश्वस्त रहेको बताए ।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, 'आज बिहानसम्म भएका छलफलबाट म विश्वसत छु कि राष्ट्रपतिले त्यो विधयेक प्रमाणीकरण गर्नुहुन्छ।'
नागरिकता विधयेकलाई लिएर हालै भएका केही घटनाले तरंग ल्याएपनि त्यसले कुनै संकट नल्याउने उनले बताए । नागरिकता विधयेक प्रमाणीकरण नगरी संदेशसहित फिर्ता पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च सैनिक अधिकारीहरुसँग गरेको भेटघाट स्वभाविक नभएको तर त्यसले गम्भीर संकट नल्याउने प्रचण्डको भनाइ छ ।
उनले आगामी निर्वाचनका लागि भदौ १५ गतेभित्र गठबन्धनमा सिट बाँडफाँट गरिसक्ने बताए। उनले भने, 'हामी सबैले मेरो गोरुको बाह्रै टक्का भन्नुहुँदैन भनेर कुरा गरेका छौँ। हामीले क्षेत्रभित्र कहा कसले जित्ले संभावना बढी छ भनेर हेर्न कार्यदललाई भनेका छौँ। सजिलोसँग सिट बाँडफाँटको विषय टुंगिन्छ, बाहिर चर्चा भएजस्तो जटिल छैन।'
सबै अलि लचिलो , जिम्मेवार र उदार भएपछि कुरा मिल्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।