धनगढी– नेपाली काँग्रेस कैलालीका पदाधिकारी तथा सदस्यहरुबीच विवाद बढ्दै गएको छ । जिल्लाको १४औं अधिवेशनमा बनेको सत्तापक्षका दुई धारको विवाद अहिले कार्यसमितिमा देखिन थालेको हो ।
पार्टीलाई थप क्रियाशिल र जिल्लामा प्रभावकारी बनाउन विभिन्न समयमा बसेको जिल्लाको बैठकमा एक पक्षीय पदाधिकारी तथा सदस्यहरुको सहभागिता गराइ निर्णय गरिने गरेको पार्टीभित्र आरोप लागिरहेको छ ।
कैलाली काँग्रेसको स्थानीय तहको निर्वाचनपश्चात तीन पटक बैठक बसेको छ । तर, पार्टी सभापति नारायणदत्त भट्ट समूहले अर्को पक्षलाई नबोलाई विभिन्न निर्णय गरेको आरोप लागेको छ ।
बिहीबार काँग्रेस कैलालीले विभिन्न विभाग गठन गरेको थियो । बिहीबार बसेको पार्टीको जिल्ला बैठकले पार्टीलाई थप क्रियाशिल बनाउन पाँच वटा विभाग गठन गरेको सचिव केशव मिश्रले बताए ।
पार्टीका जिल्ला सभापति भट्टको अध्यक्षतामा बसेको बैठकले अनुशासन समिति, प्रचार–प्रसार शाखा, संगठन शाखा, प्रशिक्षण शाखा र लेखा समिति गरि पाँच वटा विभाग गठन गरेको पार्टीका सचिव मिश्रले जानकारी दिए ।
उनका अनुसार पार्टीका जिल्ला सदस्य सन्तोष मुडभरीको संयोजकत्वमा अनुशासन संमिति गठन गरिएको छ । सो समितिमा जिल्ला सदस्य सुशील शाही र गोहनी चौधरी सदस्य रहेको सचिव मिश्रले जानकारी दिए ।
बैठकले जिल्ला सदस्य तपेन्द्र भुषालको संयोजकत्वमा प्रचार–प्रसार शाखा, जिल्ला सदस्य देवानन्द जैशीको संयोजकत्वमा संगठन शाखा, जिल्ला सदस्य हस्ता भण्डारीको संयोजकत्वमा प्रशिक्षण शाखा गठन गरिएको उनले बताए ।
जिल्ला सदस्य टंक प्रसाद जोशीको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । सो समितिमा लोकेन्द्र ऐर र हरीदत्त भट्टराई सदस्य रहेका छन् ।
नेपाली कांग्रेस कैलाली सचिव नृपबहादुर सुनारले सभापतिले एकलौटी ढंगले गठन गरेको विभागहरु आफ्नो समूहलाई मान्य नहुने बताए । कांग्रेस कैलालीका नेता प्रकाश बम समूहले सभापति भट्टले गठनगरेको विभागहरु मान्य नहुने बताएका हुन् । सचिव सुनार पनि बम समूहबाट निर्वाचित भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।