काठमाडौं– प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर राणाविरुद्ध कुनै प्रमाण भए उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ।
राणाविरुद्ध संसद् सचिवालयमा पेस भएको महाअभियोग ‘अध्ययन’ गरिरहेको समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन भनेको हो।
बिहीबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले राणाविरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको थियो।
समितिले राणा विरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित कुनै प्रमाण, कागजात तथा जानकारी भए अबको ३ दिनसम्म उपलब्ध गराइदिन आग्रह गरेको छ।

विगत ६ महिनादेखि निलम्बनमा रहेका प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव भदौ २० गतेसम्म संसद्मा पुर्याउने गरी संसद्को महाअभियोग समितिले कार्यविधि तय गरेको छ।
समितिले राणालाई ७ दिनको समय राखेर भदौ १५ गते बयानका लागि बोलाएको छ। बुधबारको बैठकले राणालाई उनको कुरा राख्ने मौका दिने सर्वसम्वत निर्णय गरेको सभापति रामबहादुर विष्टले बताए।
संसद्का एक चौथाइ (सत्ता गठबन्धनका दलका) सांसदले गत फागुनमा राणाविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव पेस गरेका थिए। संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि राणा स्वत: निलम्बनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।