काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अहिले अवैधानिक रुपमा निर्माण गरिएका संरचनाहरुमा डोजर चलाएर चर्चामा छन्।
महानगरभित्र बनेका अवैधानिक संरचना हटाएर फुटपाथ व्यवस्थित बनाउनका लागि बालेनले बुधबारबाट आफैं फिल्डमा उत्रिएर काम गरिरहेका छन्।
बिहीबार बिहान उनले बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा पार्किङका लागि दिने किसिमले नक्सा पास गरेर व्यापारिक उपयोगका लागि प्रयोग भएका संरचना हटाउन भनेका थिए।
मेयर बालेन र अल्फा बिटा कम्प्लेक्सका सञ्चालकबीच भनाभनसम्म भएको थियो। सञ्चालकले नक्सा देखाउन नमानेपछि बालेन आफैं अपरान्ह नक्सा लिएर फ्लोरमा पुगे। उनीसँगै डोजर पनि पुग्यो।
अल्फाबिटा कम्प्लेक्सको पास भएको नक्सामा भुइँ तलामा पार्किङ दिने गरी व्यवस्था भएको पाइएपछि मेयर बालेनसँगै पुगेको डोजरले पार्किङ हुनुपर्ने क्षेत्रमा रहेको अल्फा केयर फार्मेसीको संरचनालाई भत्काएको छ।
सँगै कोटेश्वर लगायतका क्षेत्रमा पनि बुधबार मेयर पुगेसँगै बिहीबार पनि थप अनुगमन भएको छ। त्यस्तै, बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सको अण्डरग्राउण्ड पार्किङ स्थलमा रहेका पसलहरु पनि मेयर बालेनले हटाएका छन्।
बुधबार सुन्धारास्थित काठमाडौं मल तथा आरबी कम्प्लेक्समा पनि बालेनको ‘डोजर’ चलेको थियो। ती क्षेत्रमा रहेका केही संरचना भत्काएर सञ्चालकहरुलाई जुन प्रयोजनका लागि प्रयोग गर्ने भन्दै नक्सा पास गरिएको हो, सोही प्रयोजनमा लगाउन बालेनले निर्देशन पनि दिएका थिए।
निजी क्षेत्रका संरचनामा मात्रै नभएर मेयर बालेनले काठमाडौं जिल्ला अदालतलाई पनि पत्र लेख्दै नक्सामा भएअनुसारको व्यवस्था गर्न भनेका छन्।
त्यस्तै, केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालको प्राङ्गण पनि बालेन पुगेका थिए। तर, अस्पताल क्षेत्र भएको र बिरामीका लागि आवश्यक अक्सिजन पनि ‘अण्डरग्राउण्ड’बाटै जडान गरिएको भन्दै सो संरचना भत्काउने काम भने केही समयका लागि रोकिएको थियो।
क्रमशः हेर्दा फोहोरको मुद्दामा केन्द्रित मेयर बालेन अहिले काठमाडौंमा भएका यस्ता संरचनाहरु हटाउन व्यस्त देखिन्छन्। भवन निर्माण गर्दा ‘अण्डरग्राउण्ड’ पार्किङ राख्ने भन्दै कर छुट लिएर बनाइएका संरचनाहरुमा सो अनुसारको व्यवस्था नभएको पाइएमा बालेनको ‘डोजर’ त्यहाँ चलिरहनेछ।
बालेनले अवैधानिक संरचनामाथि चलाइरहेको ‘डोजर’ले गरिरहेको संकेतलाई फरक–फरक क्षेत्रबाट भिन्न–भिन्न विश्लेषण भइरहेका छन्। काठमाडौं महानगरपालिकाको भवन निर्माण सम्बन्धी मापदण्ड, २०७४ काअनुसार पार्किङ प्रयोजनका लागि मात्र उपयोग हुने गरी निर्माण हुने खुला प्रकारको बहुतल्ले पार्किङ भवन निर्माणको स्विकृति दिँदा नियमानुअसर सेटब्याक छोडी बाँकी जग्गाको क्षेत्र ओगटी निर्माणका लागि अनुमति दिइने बताइएको छ।
तर, काठमाडौं महानगरपालिकाले अण्डर ग्राउण्ड, बेसमेन्ट, सेमी बेसमेन्ट, गोदाम र भुइँतलामा नक्सापास बमोजिम प्रयोग नभएको र अन्य कामका लागि प्रयोग भएको पाइएको भन्दै ३५ दिनभित्र त्यसलाई हटाउन गत साउन २ गते सूचना प्रकाशन गरेको थियो।
पार्किङका लागि भन्दै कर छुट लिएर निर्माण भएका यस्ता संरचना सोही प्रयोजनमा नभएर व्यापारिक प्रयोजनमा उपयोग भएको पाएसँगै त्यस्तो सूचना निकालिएको थियो।
उपत्यकामा रहेको अव्यवस्थित पार्किङ तथा फुटपाथको व्यवस्थापनका लागि भन्दै यी पार्किङ स्थललाई सोही प्रयोजनका लागि मात्रै प्रयोग गर्ने भन्दै उक्त सूचना निकालिएको थियो।
तर, सूचनामा तोकिएको समयमा पनि अवैधानिक रुपमा प्रयोग भएका यस्ता संरचनाले आफ्नो क्षेत्र खाली नगर्दा बालेन ‘एक्सन’मा उत्रिएका हुन्।
काठमाडौं महानगरपालिकाले बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङको नक्सासहित बनाइएको भवनलाई ९० प्रतिशत कर छुट दिने गरेको छ। महानगरले गरेको व्यवस्थाअनुसार कुनै पनि भवन वा घरमा भाडामा बस्नेहरुले आफ्नो सवारी पार्किङ गर्ने व्यवस्था घरधनीले नै गरिदिनुपर्ने पनि व्यवस्था छ।
त्यस्तै, तारे होटेल, सिनेमा हल र सभागृह र थिएटर, व्यापारिक कम्प्लेक्सलगायतका कार्यालय निर्माण गर्दा २० क्षेत्र पार्किङका लागि छुट्याउनुपर्ने व्यवस्था महानगरले गरेको छ।
तर, महानगरले गरेको व्यवस्था र कर छुट अनुसारको अवस्था फिल्डमा भने छैन। जसकारण नक्सा पास गर्दा तोकिएकै प्रयोजनका लागि संरचना उपयोग भएको हुनुपर्ने व्यवहारिक व्यवस्था बनाउन मेयर बालेन फिल्डमा उत्रिएका छन्।
मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहकाअनुसार व्यावसायिक प्रयोजनका लागि बनाइएका भवनले पार्किङ अनिवार्य बनाउनुपर्ने हुन्छ। पार्किङ नबनाएमा पहिलो तल्लाबाट मात्रै भवन निर्माण भएको हुनुपर्छ। हाल महानगरले आफ्नो क्षेत्राधिकारभित्र रहेका यस्ता भवनहरुको अनुगमन गरिरहेको छ।
‘यो सबै गर्नुको कारण काठमाडौं उपत्यकाभित्र व्यवस्थित पार्किङ बनाउनु हो,’ उनले भने। शाहकाअनुसार महानगरले अहिले अनुगमन र कारबाही गर्दै गएर पार्किङ व्यवस्थित, फुटपाथको व्यवस्थानजस्ता कुराहरुमा ध्यान दिइएको छ।
उनी भन्छन्, ‘अवैधानिक रुपमा बनेको भत्काउने हो। जहाँ खाली ठाउँ छ, त्यसलाई सुन्दर बनाउन संरचना जोड्दै जाने हो। पार्किङदेखि फुटपाथको व्यवस्थापनका लागि यो कदम चालिएको हो।’
बुधबार र बिहीबारकै क्रियाकलाप हेर्ने हो भने मेयर शाह महानगरको निर्देशन कार्यान्वयनमा अटेरी गर्ने व्यवसायीमाथि निर्मम रुपमा प्रस्तुत भएका छन्। उनको एक्सनलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। सामाजिक सञ्जालमा युवा जमातले बालेनलाई निडर नेतृत्वकर्ताले निभाउनुपर्ने भूमिका निभाएको भन्दै धन्यवाद दिएका छन्।
यता उद्योगी व्यवसायीले भने बालेनको गतिविधिलाई लिएर आलोचना गरेका छन्। व्यवसायीले बालेनले आफ्नो क्षेत्राधिकार नाघेर प्रहरी र मिडिया पछि लाएर स्टन्ट देखाएको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।