काठमाडौ– नेकपा एमालेको पोलिटब्यूरो बैठकले ११ वटा अजेण्डा केन्द्रीय कमिटी बैठकका लागि पारित गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटीको बैठकको अजेण्डा तयार गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अहिलेको परिस्थिति, सत्ता गठबन्धनका क्रियाकलाप, निर्णयहरु र स्वाधिनतामा परेको असर, मूल्यवृद्धि लगायत विषयमा छलफल गरेको गुरुङले बताए।
दोस्रो अजेण्डा आगामी चुनावको तयारी तथा विगतको स्थानीय तहको निर्वाचनको समीक्षा गरिएको उनले बताए। ‘धेरै ठाउँमा सत्ताको ठूलो धाँधलीले हार्न परेको र केही स्थानमा पार्टीभित्रको अन्तरसंघर्षले हार्नुपरेको निष्कर्ष निकालेको छ,’ उनले भने, ‘फेरि पनि नेकपा एमालेले लोकप्रिय मत पाएको र पहिलो पार्टी भएको देखिएकोले आगामी प्रतिनिधि सभा निर्वाचनमा यसलाई कायम राखेर जित निकाल्नुपर्ने छ।’
त्यस्तै भोलिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन लिखित रुपमा पेस गर्ने निर्णय भएको गुरुङले बताए। त्यसमा छलफल गर्दै आगामी रणनीति तयार हुने उनले बताए। चार जनालाई केन्द्रीय सदस्यहरुको शपथ गराउने र सचिवालयको निर्णय अनुमोदन गराउने अजेण्डा रहेको उनले बताए।
सचिवालय र पोटिब्यूरोले बनाएको उम्मेदवारको छनोटको मापदण्ड अब केन्द्रीय समिति बैठकले पारित गराउने उनले जानकारी दिए। स्थानीय तहको उजुरीमा छानबिनका लागि विष्णु पौडेलको प्रतिवेदन भोलिको केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ।
पार्टी सदस्य संख्या ८ लाख ५५ हजार भए पनि केहीको नम्बरमा दोहोरोपन आएकाले संगठित सदस्यहरुको नम्बर मिलाइने गुरुङले बताए। यस्तै अनुशासन आयोगसहित तीन आयोग र सल्लाहकारहरुको रिर्पोट पनि भोलिको बैठकमा पेस गरेर अनुमोदन गर्ने निर्णय गरिएको छ।
प्रवासका लागि नियमावली पेस गर्ने र केही नियमहरु पारित गर्नुपर्ने अजेण्डा रहेको उनले बताए। मनोनित केन्द्रीइ कमिटीहरुको कार्यविभाजन गर्ने र समसामयिक राजनीतिक प्रतिवेदन पारित गर्नेसहित भोलिको बैठकका लागि ११ अजेण्डा पोलिटब्यूरोले निर्णय गरेको उनले बताए।
बिहीबारको बैठकमा घनश्याम भुसाल, खिमलाल भट्टराई, सुमन प्याकुरेल, शान्ता चौधरी, लालबाबु पण्डित, बिन्दा पाण्डेसहित १५ जनाले आफ्ना सुझाव राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।