काठमाडौं- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्येक कम्युनिस्ट पार्टीमा एकभारी समस्या रहेको बताएका छन्। व्यक्तिवाद एक महारोगका रुपमा फैलिरहेको उनले टिप्पणी गरेका छन्।
'पार्टी पुनर्गठन'को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आफूले पार्टी एकताको कुरा गर्दैगर्दा सम्भावनाका साथै चुनौतीसमेत देखेको बताए।
उनले भने, 'एकताका कुरा गर्दैगर्दा हामीले के देख्यौं भने सम्भावनाका कुरा राम्रा छन्। चुनौतीका कुरा पनि यथार्थ हुन्। चुनौती बेवास्ता गर्यौं भने सम्भावनाको प्रयोग गर्न सक्दैनौं।'
उनले कम्युनिस्ट आन्दोलनका समस्यालाई रोगका रुपमा उल्लेख गरे। 'प्रत्येक पार्टीमा व्यक्तिवाद एक महारोग रहेको छ। गुटवाद अर्को रोग छ। भ्रष्टिकरण अर्को रोग छ। स्वार्थ अर्को रोग छ। स्वार्थ पूरा भएन भने पार्टी र आन्दोलन छाड्ने अर्को रोग छ,' उनले थपे।
उनले क्रान्तिकारीहरु कार्यदिशाका आधारमा एकताबद्ध गर्नुपर्ने बताए। विचार नभएका पार्टीमा माफियाको हालीमुहाली हुने बताउँदै विचार र निष्ठावान जोडिदै जाने र जनताको माझमा पार्टी आफैं पार्टी लोकप्रिय हुने दाबी गरे।
'जनताको विश्वास मीठो शब्दले मात्रै जित्न सकिँदैन। सिद्धान्त र व्यवहार दुवैको तालमेल मिलाउनुपर्छ,' कार्यकर्तालाई उनले भने।
उनले आगामी निर्वाचनमा १५ देखि २० सिट जित्न कसैले रोक्न नसक्ने बताए। समानुपातिकबाट पनि आफूले हैसियत देखाउनसक्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।