काठमाडौं- एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु समयमै सचेत नहुँदा एमालेबाट बाहिरिनुपरेको बताएका छन्।
'पार्टी पुनर्गठन'को कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले गरेको गुटगत गतिविधि निस्तेज पार्न नसक्दा पार्टी नै छाड्नुपर्ने अवस्था आएको उल्लेख गरेका हुन्।
उनले भने, 'हामी समयमै सचेत हुन सकेनौं। मदन भण्डारी फाउन्डेसनमार्फत् उनले गुट चलाए। त्यो प्रवृत्तिविरुद्ध लड्न सकेनौं। उनी असन्तुष्टलाई प्रयोग गर्न थाले। त्यही कुरा पार्टी विभाजनको कारण बन्यो। एउटा कारण त्यो देखिन्छ।'
गुट बलियो हुँदै जाँदा ओलीले भ्रम फैलाउँदै गएको नेपालले आरोप लगाए। 'पार्टीको गुँढ शक्ति हासिल गरे। अध्यक्ष भए। उनको चरित्र देखिन थाल्यो,' उनले भने, 'छलफल बहसप्रति वास्ता भएन। एकता हुँदासम्म रमायौं पनि। खुशी पनि भयौं। उनले प्राप्त उपलब्धी निजी पेवा ठाने। आफ्ना कारणले मात्रै उपलब्धी हासिल भयो भन्ने अहंकार भयो। नेता र कमिटीको अवमूल्यन गर्न थाले। यी कुरा आज पनि मनन गर्नुपर्छ।'
उनले गुटहरु नितान्त स्वार्थका लागि खोलिएका हुने बताउँदै ओली व्यक्तिवादको रोगबाट ग्रसित रहेको बताए। थपे, 'शक्ति हासिल गरिसकेपछि अहंकार देखिन्छ। शक्ति हासिल गरेपछि निरंकुश रुपमा देखा पर्दछ। केपी ओलीका अवसरवादी, दक्षिणवादी र विदेशीसँग लम्पसारवादी नीतिका कारण हामीले छुट्टै पार्टी बनाउनुपर्यो।'
उनले कार्यकर्तालाई जहिले पनि कुनै पनि विषयमा जानकारी राख्न इतिहासबारे जानकारी राख्नुपर्ने बताएका छन्। इतिहासबाट त्रुटि केलाउन सकेन भने वर्तमानको मूल्यांकन गर्न नसकिने उनको भनाइ छ। उनले भने, 'इतिहासमा भएका राम्रा कुरा कायम राख्नुपर्छ। कमजोरी सच्याउने आँट गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।