काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूत तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले बुधबार पार्टी कार्यालय, च्यासलमा सामूहिक भेट गरेका छन्।
अध्यक्ष ओलीसँग अमेरिकी राजदूत र्याण्डी बेरी, बेलायतका राजदूत निकोला पोलिट, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले भेटवार्ता गरेका हुन्।
भेटवार्तामा अध्यक्ष ओलीका साथमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा.अञ्जान शाक्य सहभागी भएका थिए।
भेटमा राजदूतहरूले नेपाल सरकारले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको र त्यसमा प्रमुख विपक्षी दल नेकपा (एमाले) को भूमिकाका विषयमा जिज्ञासा राखेका थिए ।
संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा त्यसमा अन्तर्राष्ट्रिय स्तर र मान्यतामा ध्यान पुर्याउनुपर्ने कुरामा उनीहरुले चासो राखेका छन्। नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता बमोजिमको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्नुपर्ने अपेक्षा उनीहरुले राखेका छन्।
संक्रमणकालीन न्यायमा पीडितको आवाज सम्बोधन हुनुपर्ने उनीहरुको साझा चासो र चिन्ता रहेको थियो। सो अवसरमा अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसद्को सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताए।
अध्यक्ष ओलीले यस्ता महत्वपूर्ण विधेयकहरू छोटो प्रक्रियाबाट पेलपाल गरेर अगाडि बढाउनु न्यायोचित हुँदैन भन्ने मान्यता एमालेको रहेको स्पष्ट गरे।
उनले भने, ‘जिल्ला–जिल्लामा गई पीडितहरूको आवाज सुनेर र प्रक्रिया पुर्याएर अगाडि बढ्नुपर्नेमा दुःखको विषय सत्ता गठबन्धन आजको आजै, ऐले नै हुनुपर्छ जस्तो ढंगले अगाडि बढेको देखिन्छ, त्यस्तो हुन सक्दैन।’
यो समस्या गठबन्धन सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र नभइ देशकै समस्या भएकाले बहुमत–अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुंयाउनुपर्छ भन्ने धारणा एमालेको रहेको अध्यक्ष ओलीले स्पष्ट पारे।
भेटवार्तामा अध्यक्ष ओलीसँगै रहेका पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले यस विषयमा सर्वोच्च अदालतले के फैसला गर्छ, त्यसलाई हेर्नुपर्ने तथा नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता अनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।