फाइल तस्बिर
काठमाडौं– नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले दलहरुबीच सहमति र सहकार्य जुटाउने दायित्व माओवादी पार्टीको काँधमा रहेको बताएका छन्। बुधबार रिपोटर्स् क्लबमा बोल्दै महासचिव गुरुङले मुलकमा स्थायित्व र स्थिरताका लागि दलहरुबीचको सहमति र सहकार्य अनिवार्य भएको बताएका हुन्।
गुरुङले मुलुकको राजनीति जटिल मोडमा अघि बढेको बताएका छन्। उनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र ढंगले समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘नेपालको संविधानले रिक्तताको परिकल्पना गरेको छैन। पाँच वर्षमा आवधिक निर्वाचनको परिकल्पना गरेको छ। आवधिक निर्वाचन अनुसार नै मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ।’
उनले यतिबेला मुलुक अस्थिरता, अराजकता, राष्ट्रिय अखण्डता माथिको चुनौती जस्ता संकट उत्पन्न भएको बताए। महासचिव गुरुङले त्यसलाई समाधान गर्नका लागि आन्तरिक रुपमा स्थिरता र स्थायीत्वको आवश्यकता रहेको औल्याए।
राजनीतिक दलहरुमा सहमति र सहकार्यको आवश्यकता महसुस भएको बताउँदै उनले मुलुकमा स्वतन्त्र, निष्पक्ष ढंगले स्वतन्त्र रुपमा मैत्रीपूर्ण प्रतिस्पर्धा गरेर राजनीतिक रुपमा मुलुकमा स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन हुनु पर्नेमा जोड दिए। महासचिव गुरुङले नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन अघि बढेको कुरा सहमतिको मोडेल भएको दाबी गरे।
उनले सबै दलहरुमा सहमति हुन नसकेकोले सबै दलहरुमा सहमति जुटाउनका लागि, सहकार्य जुटाउनका लागि बढी जिम्मेवारी र दायित्व माओवादी पार्टीको काँधमा रहेको दाबी गरे।
मुलुकले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान यसका सीमा र कयौं कमीकमजोरीका बाबजुद् पनि यसको परिवर्तनका पछाडि १० वर्षे जनयुद्ध, संयुक्त जनआन्दोलन र वृहत शान्ति–सम्झौता भएको दाबी गरे। उनले तमाम् आन्दोलनका पछाडि माओवादी पार्टीको अभिभावकीय भूमिका रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।