काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले बाटोमा फोहोर फाल्ने व्यक्तिलाई सिसीटिभीमार्फत् पहिचान गरेर कारबाही गरिने चेतावनी दिएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा भएको उपत्यका स्तरीय अपराध अनुसन्धान गोष्ठीमा बोल्दै मेयर शाहले बाटोमा फोहोर फाल्नु पनि अपराध भएकाले सिसीटिभी फुटेजमार्फत् पहिचान गरेर कारबाही गरिने चेतावनी दिए।
फोहोर फाल्न सकिने ठाउँहरुको पहिचान गर्ने र त्यस वरपर सिसीटिभी जडान गरेर फोहोर फाल्नेलाई कारबाही गर्न लागिको उनको भनाइ छ। ‘अब एक/दुई दिनमा काठमाडौंको सबै फोहोर उठिसक्छ। त्यसपछि पनि कसैले बाटोमा ल्याएर फाल्छ भने त्यस्ता व्यक्तिलाई सिसीटिभीमार्फत् पहिचान गरेर कारबाही गरिन्छ। बाटोमा फोहोर फाल्नु पनि अपराध हो।’
शाहभन्दा अघि प्रहरी महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहले अपराध अनुसन्धानको महत्वपूर्ण सहयोगी सिसीटिभी पनि रहेकाले काठमाडौं उपत्यकामा सिसीटिभी पर्याप्त नभएको बताएका थिए।
‘काठमाडौंमा २५ हजार सिसीटिभी आवश्यक रहेको हामीले पहिचान गरेका छौं। तर अहिले जम्माजम्मी ५ हजार मात्रै सिसीटिभी छन्। यसतर्फ मेयर ज्यूको ध्यान जाओस् भन्ने हाम्रो आग्रह छ’, आईजी सिंहले भने।
आईजीले सिंहले पर्याप्त सिसीटिभी नरहेको जानकारी गराएपछि मेयर शाहले सिसीटिभीका लागि केही रकमसमेत छुट्याएर काम अघि बढाइएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।