फाइल तस्बिर
काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्री देउवाका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए।
दुवै नेताबीच नागरिकता विधेयक, संक्रमणकालीन न्याससम्बन्धी विधेयक लगायतका विषयमा छलफल हुने जनाइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक विना कुनै संशोधन प्रतिनिधि सभाबाट पास भइसकेको छ। अब राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक पुन: प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस गरिने छ।
नागरिकता विधेयकको विषयमा राष्ट्रपति भण्डारी र सरकारबीच ‘असमझदारी’ बढेको भनिएका बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।
सत्ता पक्षका नेताहरुले नागरिकता विधेयक फिर्ता पठाउने राष्ट्रपतिको कदमलाई एमालेको राजनीतिक स्वार्थ पूर्ति गर्ने कदमका रुपमा समेत अर्थ्याउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।