काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयक राष्ट्रघाती भन्नु बेइमानीबाहेक केही नभएको टिप्पणी गरेका छन्।
बुधबार बिहान चितवन पुगेका अध्यक्ष दाहालले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको बताए। उनले खासगरी एमालेले नागरिकता विधेयकका विषयमा गलत प्रचार गरिरहेको आरोप लगाए।
‘आमाबुवा दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो अहिलेको विधेयकको मूल सार। नागरिकता नभएर झण्डै ६/७ लाख नागरिक सबै अवसरबाट बञ्चित भए। त्यो स्थितिको अन्त्य गर्नका लागि विधेयक ल्याइएको हो’ दाहालले भने, ‘त्यसकारण यसलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन।’
उनले केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशका रूपमा जे लगिएको थियो त्यही अहिले विधेयकका रूपमा ल्याइएको स्पष्ट पारे। ‘अध्यादेशका रूपमा ओलीले जे लगेका थिए त्यही विधेयकका रूपमा संसद्मा ल्याउँदा राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरू केही हुन सक्दैन,’ प्रचण्डले थपे।
उनले तत्कालीन नेकपा हुँदा राज्य व्यवस्था समितिबाट सात वर्षे वैवाहिकत अंगीकृतको प्रावधानसहित पारित भएको नागरिकता विधेयकलाई 'ओली र एमाले गुट'ले नै अघि बढाउन नदिएको दाबी गरे।
अहिले चुनाव नजिकिएका बेला एमालेले राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्नका लागि जनतालाई भ्रम पार्न गलत प्रचार गरिरहेको प्रचण्डको आरोप छ।
संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेपछि प्रतिनिधि सभाबाट दोस्रोपटक पारित भएको छ। अब राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ। त्यसपछि प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिकहाँ पठाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।