कैलाली (टीकापुर)– कैलालीका जनप्रतिनिधिहरुले टीकापुर घटनाको राज्यले उचित निकास दिनुपर्ने सुझाव दिएका छन्।
टीकापुर घटनाको सात वर्षको अवसरमा आयोजित विद्रोह समारोहलाई सम्बोधन गरेका जनप्रतिनिधीहरुले जिल्लामा समानता, न्याय, अधिकार र सद्भावका लागि पनि राज्यले टीकापुर घटनाबारे उचित निकास दिनुपर्ने बताएका हुन्।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले टीकापुर घटनाको क्षतिपूर्तिको रुपमा आगामी निर्वाचनमा टीकापुर क्षेत्रमा सबै राजनीतिक दलले थारु उम्मेद्वार दिनुपर्ने बताए।
उनले संविधानले दिएको अधिकारहरु कार्यान्वयन गर्दै सबै क्षेत्रमा समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।
थरुहट/थारुवान राष्ट्रिय मोर्चा तथा थारु कल्याणकारिणी सभालगायतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख एवं नागरिक उन्मुक्ति पार्टीका नेता रामलाल डंगौरा थारुले भने, ‘विकास, समृद्धि र सद्भावको लागि तत्काल टीकापुर घटनाको अभियोगमा थुनिएका बन्दीहरुलाई रिहा गरिनुपर्छ। उहाँहरुको रिहाइपछि टीकापुरमा कहिलै पनि सद्भाव बिग्रने छैन।’
आसन्न निर्वाचन अगाडि नै बन्दीहरुलाई रिहा गरी सामाजिक सद्भावको वातावरण राज्यले सिर्जना गर्नुपर्ने उनको माग थियो। कैलालीका सबै स्थानीय तहहरुले टीकापुर घटनालाई राजनीतिक घटना रहेको निर्णय गरी सो घटनाका अभियोग लागेका व्यक्तिहरुको रिहाइ गर्न पहल गर्नुपर्ने लम्की चुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाहीले बताइन्।
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले अधिकार प्राप्तिको राजनीतिक आन्दोलनमा राज्यले दमन गर्दा टीकापुर घटना घट्न पुगेको बताउँदै यहाँको विकासको लागि राज्यले टीकापुर घटना सम्बोधन गर्न ढिलाइ गर्न नहुने तर्क गरे।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीले टीकापुर घटनाको निकासको लागि टीकापुर घटना छानबिनका लागि तयार पारिएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए। सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गर्दा थारुलगायत उत्पीडित समुदायमाथि अन्याय भएको उनको भनाइ थियो।
२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रेशम चौधरी विजयी भए पनि पाँच वर्षदेखि कैलालीको निर्वाचन क्षेत्र नं.१ संघीय जनप्रतिनिधिविहीन भएको छ।
थरुहट नेता लक्ष्मण थारुले हालसम्म राजनीतिक आन्दोलनलाई आपराधिक आन्दोलनको रुपमा लिएको बताउँदै अब हुने चुनावलाई नै आन्दोलनको रुपमा लैजान आह्वान गरे।
टीकापुर विद्रोहको जगमा नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै नेता थारुले भने, ‘सरकार हालसम्म हाम्रो मुद्दाप्रति सकारात्मक छैन। तर, आमजनताको एउटै माग छ, टीकापुर घटना राजनीतिक हो, राजनीतिक ढंगले सम्बोधन गर्नुको विकल्प छैन। जनताले आफ्नो मतमार्फत् सरकारलाई सन्देश दिँदै आएका छन्। जसको परिणाम हो, नागरिक उन्मुक्ति पार्टीले स्थानीय तह निर्वाचनमा कैलालीको चार पालिकाकामा जीत हासिल गर्नु। त्यसैले आउँदो चुनावलाई आन्दोलनको रुपमा लिनुपर्छ। सबैभन्दा सजिलो आन्दोलन नै निर्वाचन हो।’
संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएर ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो।
घटना भएको दोस्रो दिन बिहान कफ्र्यु जारी भएको समयमा ८० बढी थारु समुदायको घर, पसल, एफएमलगायतमा आगजनी भएको थियो। उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरीसहित नेता कार्यकर्ता हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।