फाइल तस्बिर
काठमाडौं– आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटबारे टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ।
कार्यदल र शीर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि बिना सहमति टुंगिएको हो।
कार्य दलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक बुधबार अपरान्ह पाँच बजे बस्नेगरी सकिएको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए।
उनले २०७४ सालको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन, हालै सम्पन्न स्थानीय तह निर्वाचन र दलहरुले जित्ने ठाउँलाईसमेत आधार बनाएर सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको र भदौ ९ गते बिहीबार भित्र त्यसलाई टुंगोमा पुर्याउने गरी गठबन्धनमा आवद्ध दलका नेताहरुबीच छलफल भइरहेको बताए।
नेता पुरीले भने, ‘आज निष्कर्षमा पुग्न सकिएन। कार्यदलको संयोजक पनि हुनु भएन आज। त्यसले गर्दाखेरी हाम्रो छलफल चाँही जारी रह्यो। आज निष्कर्षमा पुग्न सकेन। भोलि फेरि बैठक बस्ने तय भएको छ। भोली पाँच बजे बैठक छ। त्यसमा छलफल भएर हामी अब टुंग्याउँछौं। ९ गतेभित्र यसलाई टुंग्याउने प्रयत्न गर्छौं। हामीले त्यसलाई समग्र रुपमा छलफल गरिराखेको छौं। सिट बाँडफाँटको आधारहरुको विषयमा छलफल भइरहेको छ। निर्वाचनको प्रत्यक्षतर्फको एउटा आधार छ। समानुपातिकको अर्को आधार छ। स्थानीय तह निर्वाचनलाई पनि आधार बनाउने कुरा गरिराखेका छौं। विभिन्न आधारहरुको विषयमा छलफल गरिराखेका छौं। छलफल सकारात्मक रुपमा अगाडि बढिराखेको छ। भोली पनि बैठक हुन्छ।’
सत्तारुढ दलहरुले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटका लागि कांग्रेस नेता सिटौला नेतृत्वको कार्यदल बनाएका छन्। तर कार्यदलका संयोजक सिटौला बिरामी भएका कारण मगलबारको बैठकमा उपस्थित हुन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।