काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवाहकै जग्गेमा नागरिकता दिन नमिल्ने दाबी गरेका छन्। राजधानीमा भएको एक कार्यक्रममा अंश पाउन मात्र विवाह गरेको हो कि भनेर हेर्नुपर्ने बताए।
उनले राज्यलाई र कसैलाई ठग्न पो खोजेको हो कि भनेर पनि हेर्नुपर्ने बताए। उनले २०७४ सालमा निर्वाचित भएर आएपछि नागरिकता विधेयक पेस गरेको तर एकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेको उनले आरोप लगाए।
‘मैले प्रधानमन्त्री भएलगत्तै नागरिकता विधेयकसम्बन्धी कानुन बनाउन विधेयक पेस गरेको थिएँ तर एकै पार्टी भए पनि पुष्पकमल दाहाल प्रचण्डले रोकेको रोकै गरेर पारित हुन दिएनन्,’ उनले भने, ‘अहिले बेढङ्गी रुपमा बहुमतले नागरिकता विधेयक पारित गरिएको छ।’
उनले वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि मात्र नागरिरता दिनुपर्ने बताए।
‘नागरिकता दिन केही समय हेर्नुपर्छ, विवाह साच्चै हो कि हैन, नेपालमा विवाह गरेपछि अंशमा अधिकार हुन्छ,’ उनले भने, ‘अंश पाउन मात्रै बिहे गरेको हो कि हेर्नुपर्छ।’
उनले वैवाहिक अंगीकृतलाई विवाहकै जग्गेमा नागरिकता दिन नमिल्ने बताए। विवाहकै लागि मात्र विवाह गरेको हुनसक्ने र हेर्नुपर्ने भएकाले समय राखेर दिनुपर्ने उनको भनाइ थियो। उनले नेकपा एमालेबाहेक अरुले नागरिकता दिन नसक्ने दाबी गरे।
उनले नागरिकता विधेयकको चर्चा गरिरहँदा ओलीले आफूले ल्याएको अध्यादेशबारे भने बोलेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।