जुम्ला– जुम्लाको हिमा गाउँपालिका–१ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सेवाग्राहीलाई यातायात सुविधा दिन थालेको छ।
सो वडाबाट सामाजिक सुरक्षा भत्ता लिन बैंकमा आउन करिब एक दिन लाग्ने र हिँडेर कठिन हुने भएकाले वडा कार्यालयले सबैलाई बैंकमा जान र आउनका लागि यातायात सुविधा उपलब्ध गराउन थालेको वडाध्यक्ष रतनबहादुर शाहीले जानकारी दिए।
वडाका चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरी सेवा प्रदान गरिएको छ।
वडाध्यक्ष शाहीले भने, ‘बालबालिका दुई सय ६१, ज्येष्ठ नागरिक एक सय ७३, एकल महिला १८ र अपाङ्गता भएका चार जनालाई गाडी रिजर्भ गरेर सेवा प्रदान गरिएको छ।’
त्रैमासिक रुपमा बैंकले तोकेको दिनमा अब वडापालिकाले सामाजिक सुरक्षाभत्ता पाउने नागरिकलाई यातायात सेवा निरन्तर दिने वडा कार्यालयले जनाएको छ।
गाउँपालिका र बैंकको दूरी टाढा भएकाले वडा कार्यालयले बस चढाएर बैंक पुर्याएपछि ज्येष्ठ नागरिकसहितका सेवाग्राही खुसी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।