काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो।
सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेकासँगै निर्वाचन केन्द्रित छलफलका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।
निर्वाचन लक्षित कार्यक्रम, उम्मेदवारको मापदण्ड र प्रचार–प्रसारका कार्यक्रम तय गर्नका लागि एमालेले लगातार बैठक बोलाएको छ।
एमालेले स्थायी कमिटीपछि ९ गते पोलिटब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले धेरै क्षति ब्यहोरेकाले यसपटक त्यसलाई पूर्ति गर्नेगरी निर्वाचन रणनीति बनाउने तयारी एमालेले गर्दै आएको छ।
सत्ता गठबन्धनले एक भएर निर्वाचनमा भाग लिने भनिरहेको छ। उनीहरुलाई असफल पार्दै बहुमत ल्याउनुपर्ने एमालेलाई छ। निर्वाचन केन्द्रित छलफलकै लागि एमालेले प्रतिनिधि सभा बैठक सार्न आग्रह गरेको थियो।
प्रमुख प्रतिपक्षीको आग्रहपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक भदौ १३ गतेलाई सारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।