काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेको आग्रहपछि प्रतिनिधि सभाको बैठक एक साताका लागि सरेको छ। भदौ १२ गते पार्टीको विभिन्न बैठक भएकाले प्रतिनिधि सभाको बैठक उक्त अवधिमा नराख्न एमालले औपचारिक रुपमा सभामुख अग्नि सापकोटालाई जानकारी गराएपछि भदौ १३ गतेसम्मका लागि बैठक सारिएको हो।
नेकपा एमालेको मंगलबार स्थायी कमिटी बैठक बस्दै छ। यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ।
उक्त बैठकहरुमा सहभागी हुनुपर्ने भएकाले आफ्ना सांसदहरु उपस्थित हुन नसक्ने जानकारी सभामुखलाई गराइएको थियो। सभामुख सापकोटाले प्रमुख प्रतिपक्षको आग्रहपछि बैठक एक सातापछि राखेका हुन्।
सरकारले आजमात्र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पेस गरेको थियो। कानुनमन्त्री गोविन्द बन्दी शर्माले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन विधेयक टेबुल गरेका थिए। उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरेर सरकारले छिटै टुंग्याउने तयारी गरेको थियो।
प्रतिनिधि सभाबाट पारित भएपछि राष्ट्रिय सभाबाट पारित हुनुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।