काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली कला संस्कृति पर्यटनको आधारको रुपमा रहेको बताएका छन्। नेपाल व्यवसायिक कलाकार संघले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम्’ नामक पुस्तक विमोचन तथा चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कलाका विविध सौन्दर्यले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनारी दिने बताए। नेपालीकला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन आफ्नो प्राथमिकतामा रहेको उनले बताएका थिए।
पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउँदै मन्त्री श्रेष्ठले संस्कृतिको संरक्षण र प्रचार–प्रसारलाई योजनावद्ध रुपमा अघि बढाइएको बताए। काठमाडौंको पर्यटन विकासका लागि सम्पदा मार्ग निर्माण गर्न लागिएको जानकारी दिँदै उनले सम्पदा मार्ग निर्माण प्रक्रिया समेत अघि बढिसकेको बताएका छन्।
काठमाडौंमा सांस्कृतिक चाडपर्व र सम्पदाहरु पर्यटकीय आकर्षणका दृष्टिले महत्त्वपूर्ण रहेको बताउँदै यसको संरक्षण र सांस्कृतिक विविधतालाई प्रचार–प्रसार गर्नुपर्ने बताए। कार्यक्रममा ‘चित्र कवि’ का रुपमा परिचित सुरेशकुमार द्यःलाले आफुले २० वर्ष लगाएर ‘सत्यम्, शिवम्, सुन्दरम्’ कृति तयार गरेको बताएका छन्।
द्यःलाले शिवशंकरको पुराणमा आधारित चित्रहरूमार्फत् शिवको महिमा पुस्तकमा चित्रण गरेका छन्। कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार मदन चित्रकारलाई सम्मान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।