काठमाडौं– ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जीसीटीपी) का उच्च अधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन्। सभामुख सापकोटा सँगको भेटमा उनीहरुले नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न चाहेको बताएका छन्।
जीसीटीपीका अधिकारीहरुले सोमबार सभामुख सापकोटासँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भएको शिष्टाचार भेटमा नेपालबाट धेरै कुरा सिक्न चाहेको बताएका हुन्। भेटमा विश्व शान्ति र सहिष्णुता क्षेत्रमा काम गर्न विश्वका ९० बढि देश संलग्न जीसीटीपीका बर्तमान अध्यक्ष अहमद अल जरवानले भने, ‘शान्ति र सहिष्णुताको संस्कार सबैले अंगिकार गर्नु आवश्यक छ, यसका लागि हामीले नेपालको शान्ति प्रक्रियाबाट धेरै सिक्नु छ।’
अध्यक्ष जरवानले नेपालको शान्ति स्थापनाको राम्रो उदाहरण रहेको र विविधताबीच एकता कायम रहेको कुराले विश्वका धेरै देशका सांसदलाई नेपाल आउन प्रेरित गरेको बताए।
प्रतिनिधि मण्डलका सदस्यहरुले विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघमार्फत् शान्ति सेना पठाएर गरेको सहयोग तथा बुद्धको जन्मथलोका रुपमा विश्वभर शान्तिको सन्देश दिएको देश नेपालमा निकट भविष्यमा ग्लोबल कन्फरेन्स गर्ने इच्छा व्यक्त गरेका थिए।
भेटमा सभामुख सापकोटाले वर्तमान विश्व परिवेशमा शान्ति र सहिष्णुताको महत्व अझ बढेर गएको बताउँदै यसका लागि सबैबाट असीमित प्रयासको खाँचो औंल्याए। नेपालमा शान्ति प्रक्रियाका धेरै विषय टुंगिएको र केही बाँकी रहेको जानकारी गराउँदै सभामुख सापकोटाले यहाँको शान्ति स्थापनामा भएका उत्तम अभ्यासहरु विश्वका लागि महत्वपूर्ण हुन सक्ने धारणा राखे।
सभामुख सापकोटाले विश्व शान्ति स्थापनार्थ काम गरिरहेका संस्थाहरुबीच ऐक्यवद्धता र सहकार्य जरुरी रहेकोमा जोड दिँदै आफू नेतृत्वको संघीय संसद् सहकार्यका लागि सधैँ तयार रहेको बताए।
सो भेटमा जीसीटीपीका फरक फरक देशका १३ सदस्यीय प्रतिनिधि मण्डलका सदस्यहरुले लैंगिक समानताका क्षेत्रमा नेपालले गरेका काम उदाहरणीय रहेको बताएका थिए।
यसैबीच नेपालको संघीय संसद् र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिसबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ। सोमबार अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा आयोजित कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारी पत्रमा नेपालका तर्फबाट प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र जीसीटीपीका तर्फबाट जोरान इल्लियोभोस्कीले हस्ताक्षर गरे। समझदारी पत्रमा विश्व शान्ति र सहिष्णुताका लागि सहकार्यका विषय समावेश रहेका सभामुख सापकोटाको सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।