काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।
बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु आवतजावत भइरहेका छन्। यद्यपि सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो छ।
मंगलबार बिहानैदेखि उपत्यकाका प्रमुख सडक र चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ।
सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो।
विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन्। अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।