फाइल तस्बिर
काठमाडौं- राप्रपा नेपाल पुनर्जागृत गरेपछि अध्यक्ष कमल थापाले पहिलोपटक आज झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन्।
बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट संचालन हुने पार्टी नभएको बताए। 'कुनै अँध्यारो कुना र शक्तिको रिमोटबाट राप्रपा नेपाल संचालित हुँदैन' थापाले भने।
राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गर्दै थापाले उच्च मनोबलका साथ संगठन निर्माणमा कृयाशिल हुन कार्यकर्ताहरुलाई आग्रह गरे। नेपाली जनताले विकल्पको खोजी गरिरहेको भन्दै उनले राप्रपा नेपाललाई नेपाली जनताले खोजेको वैकल्पिक शक्ति बनाउने अभियानमा आफू लागिरहेको बताए।
राष्ट्रियताको सम्बर्द्धन ,प्रजातन्त्रको सुदृढीकरण, धर्म संस्कृतिको रक्षा र आर्थिक समृद्धिको एजेण्डा बोकेको पार्टी राप्रपा नेपाल भएकोले यसलाई बलियो बनाउन नेपाली जनताले साथ दिनुपर्नेमा उनको जोड थियो। बेरोजगारी, भ्रष्टाचार, कुशासन, धर्म परिवर्तन अहिले देशको मुख्य समस्या र चुनौती भएको चर्चा गर्दै थापाले ठूला भनिने दलहरुसँग दूरदर्शिता र ईमानदारिता नभएको बताए।
आगामी चुनावमा केही सिटमा तालमेल हुने र देशैभरि राप्रपा नेपालले आफ्नो उम्मेदवारी खडा गर्ने थापाले स्पष्ट पारे। चुनावी तालमेल नेकपा एमालेसँग हुने सम्भावना बढी भएको समेत उनले बताए।
राप्रपा नेपाल झापा अध्यक्ष कमल खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेताहरु लाक्पा तामाङ, सुशिल श्रेष्ठ, राजाराम बर्तौला, बसन्तमान सिह अधिकारी, बासुदेव भट्टराई ,ममता राई, देवीरमण भट्टराई लगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।