फाइल तस्बिर
काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालिन न्याय प्रक्रियामा आफूहरुलाई सल्लाह नै नगरी ल्याएकाले सम्हालिएर अघि बढ्न चेतावनी दिएका छन्।
उनले कानुनमन्त्री गोविन्द कोइराला ‘बन्दी’माथि एक चटकेमन्त्री एक्लै म सबै गर्छु अनि हिरो हुन्छु भनेर लागेको भनी टिप्पणी गरे। सिन्धुपाल्चोकमा नेकपा (माओवादी केन्द्र)बाट एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले सत्ता पक्षको बहुमत छ भनेर ऐन पारित गरेमा च्यातिने चेतावनी समेत दिए।
‘शान्ति प्रक्रिया टुंग्याउने भन्दै एक दुई मन्त्री लागेका छन्। एउटा मन्त्री कुदिरहेको देखिराखेको छु’ उनले भने, ‘दिनभरि पीडितहरुलाई कुराएर राखेको छ। कस्ता अनाडीहरु सरकारमा पुगेका छन्। परिवारका सदस्यहरु रोएर हिडेका छन्। तिनको आँसुमाथि मजाक उठाउँदै हिडेका छन्।’
पीडितहरुका आशुमा खेलवाड गर्दै शान्ति प्रक्रिया सरकारले टुंग्याएर टुंगाेमा नपुग्ने दाबी उनले गरे। उनले संक्रमणकालीन न्याय मेलमिलाप होइन परिपुरण दिनुपर्ने बताए।
‘एक चटकेमन्त्रीले ६ महिनाका लागि आएर कसैले नसकेको मैले सकेको भनेर हिरो हुने ’ उनले भने, ‘नेकपा एमाले देशको ठूलो प्रतिपक्ष पार्टीमा छ, एक वचन नसोधी विधेयक ल्याउने।’ उनले हिजो भ्रममा पारेर लडाकुहरुलाई युद्धको मैदानमा लगेर युवाहरुको दुरुपयोग गरेको टिप्पणी गरे।
‘यो सरकारले पीडा दिएको छ। यो चल्दैन। सरकार सम्हालिएर व्यवहार गरोस्’ उनले भने, ‘हामीले काम गर्न खोज्दा एक वर्ष दिइएन। अहिले जवरजस्ती स्वेच्छाचारी रुपमा कानुन बनाउन मिल्छ ? उनीहरुको आदेश र घोषणाले समस्या समाधान हुने हो र ? ’ उनले पूर्वराजा ज्ञानेन्द्र शाहले २०६२/०६३मा आन्दोलन टुंगियो भनेर घोषणा गरेजस्तै हुने दाबी गरे। उनले पीडितले न्याय पाउनुपर्ने र जघन्य अपराधमा सजाय तथा सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनअनुसार समाधान खोजिनुपर्ने बताए।
‘पीडितलाई रुवाईरुवाई कसैले घोषणा गर्दैमा शान्ति प्रक्रिया टुंगोमा पुग्दैन’ उनले भने, ‘उनीहरु अझै आज शरीरमा गोली लिएर, तड्पिएर हिँडेका छन्, तर प्रचण्डलाई परिवारबाहेक अरुको मतलब छैन।’
प्रचण्डले जाँड खाएर मरेका मानिसको शालिक बनाएको तर जनयुद्ध लडेका लडाकुहरुको र शहिदहरुको किन नबनाएको भन्दै प्रश्न गरे। प्रकाश दाहालको शालिक बनाएकोप्रति आलोचना गर्दै प्रचण्डलाई प्रधानमन्त्री हुन, बुहारीलाई मन्त्री बनाउन र छोरीलाई मेयर बनाउन मात्र चासो रहेको आरोप लगाए।
उनले प्रचण्डको सात पुस्ता र सम्धीको सात पुस्तासम्म सप्रेको आरोप लगाए। उनले युरिया हालेको झैं भएको दाबी गरे। उनले जनयुद्धका घाइतेहरुलाई एमालेको पार्टी कार्यालय आउन र आफूले उपचार गर्ने घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।