काठमाडौं– काठमाडौ महानगरपालिका मेयर बालेन शाहले पार्किङ भनेर नक्सा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाहरुको अनुगमन, खोजी र कारबाही सुरु भएकोले अब महानगरभित्रका यस्ता सम्पूर्ण संरचना भत्काउने चेतावनी दिएका छन्।
उनले सोमबार नयाँ बानेश्वर पुगेर यसको अनुगमन गरेका थिए। बानेश्वर क्षेत्रमा यस्ता संरचना भत्काएपछि उनले अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएकोले अब महानगरले कारवाही गर्ने बताए।
‘हामीले आज बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौं विस्तारै सबैतिर महानगर पुग्नेछ’ उनले भने, ‘यसैले हामी अनुरोध गर्दछौं कि पार्किङका लागि बनाइएका संरचनाहरु पार्किङमा नै प्रयोग गरिदिनुहोला। यसो भएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ।’
उनले सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुने बताए । ‘कृपया, कारबाहीभन्दा पनि महानगरप्रतिको जिम्मेवारीले पनि आफू सचेत बनिदिनु हुनेछ भन्ने विश्वास गर्दछौैं’ उनले भनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।