काठमाडौं- नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गत स्थानीय तहको निर्वाचनमा चुनावी कमान्ड सम्हाले। केन्द्रीय चुनाव परिचालन समितिका संयोजक खड्काको कमान्ड सफल रह्यो। कांग्रेस पहिलो पार्टी बन्यो। तर, उनकै गृहजिल्ला सुर्खेतको समाचार भने सुखद् रहेन। २०७४ सालमै ६ वटा पालिका जितेको कांग्रेस यसपल्ट दुई गुमाएर एमालेसँग ४ बराबर गर्न पुग्यो।
गठबन्धन गर्दा समेत परिणाम खस्किएको स्थानीय तह निर्वाचनको सन्दर्भले खड्कालाई प्रतिनिधि सभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ मा सजिलो नभएको प्रष्ट्याउँछ। पार्टी राजनीतिमा सभापति शेरबहादुर देउवा गुटको उत्तराधिकारी उन्मुख खड्कालाई चुनाव जित्नैपर्ने दबाब छ। यसपल्ट प्रतिनिधि सभामा आउन सकेनन् भने देउवापछि उक्त गुटबाट कांग्रेसकै 'कमान्ड' गर्ने उनको यात्रा जोखिमपूर्ण बन्न सक्छ।
२०७५ सालको निर्वाचनमा पार्टी महामन्त्री रहेका उनी एमालेका ध्रुबकुमार शाहीसँग पराजित भए। शाहीले ३६ हजार ७ सय ५९ मत ल्याएका थिए भने खड्काले ३३ हजार ३ सय ७७ मत मात्रै पाए। यसपल्ट पनि शाही नै उनको प्रतिस्पर्धी बन्ने सम्भावना प्रबल छ। शाहीका अलवा एमालेबाट टिकटका अर्का बलिया दाबेदार हुन् डण्डिप्रसाद शर्मा। डण्डि अघिल्लोपटक पनि टिकटका दाबेदार थिए। उनको नाम समेत सिफारिस भएको थियो। तर, जिल्ला पार्टी अध्यक्ष समेत रहेका शाहीले टिकट पाए र वाम गठबन्धनका तर्फबाट निर्वाचित भए।
यसपल्ट डण्डि किन पनि टिकटका बलिया दाबेदार हुन् भने उनी लामो समय एमालेको शिक्षक संगठनको नेतृत्वमा थिए। उनका दाइ ऋषि शर्मा (दिवंगत) को सुर्खेतमा एमाले निर्माणमा ठूलो योगदान छ। पारिवारिक विरासत तथा आफ्नो सांगठनिक अनुभवलाई देखाउँदै डण्डिले टिकटमा दाबी गरिरहेका छन्।
उनका दाइ ऋषि जनतामा निकै लोकप्रिय थिए। उनी २०६४ को संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार थिए। उनका प्रतिस्पर्धी कांग्रेसका लालबहादुर घले थिए। तर, शर्मालाई २०६४ चैत २६ गते भेरीगंगा नगरपालिकाको लोदेमा गाडीभित्रै गोली हानेर हत्या गरिएको थियो। त्यसपछि चैत २८ मा तोकिएको निर्वाचन सुर्खेत–१ मा हुन सकेन। पछि वैशाखमा भएको निर्वाचनमा ऋषिपत्नि कमला निर्वाचित भइन्।
त्यतिबेला खड्का समानुपातिकतर्फबाट सांसद छानिए। २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा भने खड्का सजिलै निर्वाचित भएका थिए। स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम केलाउँदा खड्का डराउनुपर्ने देखिँदैन।
वडाअध्यक्षहरुले ल्याएको मत केलाउँदा कांग्रेससँग ३६ हजार ९ सय २८ मत छ। त्यसैमाथि सत्ता गठबन्धन भएकाले माओवादीले ल्याएको ५ हजार ७७ मतसमेत जोड्दा एमालेसँग ८ हजार भन्दा बढीको मतान्तर हुन्छ। एमालेबाटै छुटेको एकीकृत समाजवादीको ६ सय ७९ मत पनि खड्काकै खातामा जोडिने हो। स्थानीय तहको निर्वाचनमा एमालेले ३४ हजार ८ सय ४३ मत मात्रै पाएको छ। एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले सघाउँदा मतान्तर २ हजार ५ सय ७० ले घटाउँछ।
यही अंकगणितबाट मात्रै खड्का ढुक्क हुनसक्ने अवस्था भने छैन। किनभने स्थानीय तहको निर्वाचनमा खड्काको गृहनगर सुर्खेत वीरेन्द्र नगरपालिकामा माओवादीसँग गठबन्धन गर्दासमेत कांग्रेसले हार बेहोर्नुपर्यो। नगरमा प्रमुख र उपप्रमुख मात्रै होइन, १६ मध्ये ११ वडा एमालेले जित्यो।
गृहजिल्ला सुर्खेतकै नतिजा पनि खड्काका लागि निराशाजनक रह्यो। २०७४ मै ६ वटा पालिका जितेको कांग्रेसले यसपल्ट दुईटा गुमायो। गुमेका दुईटै भेरीगंगा र चिंगाड गाउँपालिका उपसभापति खड्काकै निर्वाचन क्षेत्रभित्र पर्छन्।
संघीय निर्वाचनका लागि कांग्रेसको ‘भोट रुपमा चिनिने यी पालिकामा पराजय भोग्नुले खड्कालाई झस्काएको छ। खड्काको निर्वाचन क्षेत्रमा सिम्ता र चिंगाड गाउँपालिका, भेरिगंगा, गुर्भाकोट र लेकबेसी नगरपालिकाका सबै वडा पर्दछन्।
वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ वडा पर्दछन्। यी ५ पालिकामध्ये ३ मा एमालेले जितेको छ। कांग्रेसले जितेका दुई पालिकामध्ये लेकबेसीमा त कडा प्रतिस्पर्धा अर्थात् ३ सय भोटले मात्रै कांग्रेसले जितेको छ। वीरेन्द्रनगर नगरपालिकाको दुईटा वडामध्ये एउटामा एमालेले नै जितेको छ।
अन्तर्घातको डर
कांग्रेसबाट कर्णालीमा प्रभाव जमाउने दुईजना नेता छन्। संस्थापनबाट खड्काका साथै संस्थापनइतरबाट हृदयराम थानी। उनीहरू दुवै सुर्खेतका हुन्। फरक निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्ने उनीहरुको आन्तरिक प्रतिस्पर्धा भने चर्को छ।
स्थानीय तहको निर्वाचनमा हार बेहोर्नुको एउटा कारण दुई नेताबीचको सम्बन्ध 'सुमधुर' नहुनु पनि एक रहेको बताइन्छ। स्थानीय तहको उम्मेदवारीमा ४० प्रतिशत भाग थानी समूहले मागेको थियो। तर, उक्त समूहको माग सम्बोधन हुन सकेन। थानी समूह असन्तुष्ट रह्यो। त्यही असन्तुष्टि मतपेटिकामा झरेको कांग्रेसको खड्का समूहले आरोप लगाएको थियो।
खड्का र थानीको आन्तरिक प्रतिस्पर्धा बहुदलपछि नै सुरु भयो। खड्काले राजनीतिमा फड्को मार्दै गए। साथै, थानीलाई पछि पार्न पनि भूमिका खेलेको थानी पक्षको सदाबहार आरोप छ। त्यसको सुरुवात २०४९ को स्थानीय निर्वाचनबाट भएको थियो भने कांग्रेसको १४औं महाधिवेशनसम्म कायम रह्यो। खड्का उपसभापति बन्दै गर्दा थानी भने केन्द्रीय समिति सदस्य समेत बन्न सकेनन्। खड्का पक्षको पेलाइका कारण केन्द्रीय सदस्यमा एक भोटले हार्नुपरेको गुनासो थानीको रहँदै आएको छ।
२०४९ सालमा जिल्ला विकास समितिको सभापति बन्ने थानीको चाहनाका बाधक पनि खड्का नै रहेको उक्त पक्षको आरोप छ। थानीले २०४९ सालमा जिल्ला विकास समितिको सभापति बन्नका लागि वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षको चुनाव लडे। जित पनि हासिल गरे। तर, अन्तर्घातको आरोप लाग्यो र जिविस सभापति बन्नबाट रोकिए। खड्कानिकटकै गोविन्दबहादुर मल्ल सभापति भए।
२०५१ सालको मध्यावधि निर्वाचनले उनीहरुको फाटेको मनमा झन् ठूला धाँजा ल्यायो। तीन निर्वाचन क्षेत्र रहेको सुर्खेतको क्षेत्र नम्बर १ मा खड्का, २ मा थानी र ३ मा शिवराज जोशीले टिकट पाए। तर, थानीको क्षेत्रमा टेकदत्त रेग्मी कांग्रेसबाट विद्रोही उम्मेदवार बने। खड्का निकटकाले उनलाई समर्थन गरेको हल्ला चल्यो र थानीलाई पराजय गरेर एमालेका यमलाल कँडेल विजयी भए।
स्थानीय तहको निर्वाचनसम्म नमेटिएको खड्का-थानी तुष आगामी निर्वाचनबाट मेटिएला? मेटिएमा खड्कालाई समस्या छैन। तर, मेटिएन भने चाहिँ जितका लागि खड्काले थप मेहनत गर्नुपर्ने हुनसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।