काठमाडौं– गौशालाको पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको प्रहरीले निष्कर्ष निकालेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुस्मिताको हत्या उनकै प्रेमी देवबहादुर थापाले गरेका हुन्। उनले नशालु पदार्थ सेवन गराई वा कुन विधिले हत्या गरेका हुन् भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने प्रहरीको भनाइ छ।
जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी, प्रेमिका थिए। देवबहादुर केही समय जापान बसेर फर्किएका हुन्। ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका थापा काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, आलापोटमा बस्दै आएका थिए। मृतक सुस्मिताको घर पनि आलापोटमै हो।
उनीहरू पुस १६ गते राति साढे १० बजे पिंगलास्थानस्थित होटल बागमतीको कोठा नं. ३०८ मा छिरेका थिए। १२ बजे थापा कोठाबाट बाहिर निस्किए। त्यसक्रममा उनले बाहिरबाटै चुक्कुल लगाएको प्रहरीले जनाएको छ।
लामो समयसम्म कोठा नखुलेपछि होटलमा रहेको मास्टर किबाट कोठा खोलिएको थियो। त्यसबेलासम्म युवतीको मृत्यु भइसकेको थियो।
कोठाभित्र रेडबुलका केही बट्टामात्रै भेटिएको छ। बाहिरबाट ढोका लगाएर भागेको, युवतीको मोबाइल पनि साथमै लगेका कारण हत्या थापाबाटै भएको प्रहरीको दाबी छ। उनी हालसम्म फरार छन्।
प्रहरीका अनुसार, अनुसन्धान विधिअनुसार उनी पहिचान नजिक छन्। प्रहरीका अनुसार थापा मंसिर ३० गते जापानबाट काठमाडौं आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।