एजेन्सी–अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शपथ ग्रहण अब २ हप्ता पनि बाँकी छैन।
यस्तैमा न्यूयोर्कको एउटा अदालतले ट्रम्पलाई झटका दिएको छ। हश मनी मुद्दामा सजाय सुनाउन ढिलाइ गर्न ट्रम्पले गरेको अनुरोधलाई न्यायाधीशले सोमबार अस्वीकार गरेका छन्।
न्यायाधीश जुआन मर्चेनले गएको हप्ता ट्रम्पको शपथ ग्रहण समारोह अघि उनलाई सजाय हुनु पर्ने फैसला गरेका थिए। ट्रम्पका वकिलले राष्ट्रपतिको चुनावमा जितेपछि यो मामिला यही अन्त्य हुनु पर्ने तर्क गरे पनि न्यायाधीश यो कुरामा सहमत भएनन्।
मार्चेनले दुई पृष्ठको फैसलामा अभियोजकहरूले सजायमा ढिलाइको विरोध गरेको रउच्च अदालतमा ट्रम्पले दिने याचिका स्वीकृत भयो भने मात्रै यसलाई टार्न सकिने बताएका थिए। जनवरी १० मा हश मनी मुद्दामा ट्रम्पलाई सजाय सुनाइदैछ।
मर्चेनले ट्रम्पलाई शुक्रबार सजाय सुनाउने दिनमा व्यक्तिगत रूपमा वा अनलाइनमा उपस्थित हुने विकल्प दिएका थिए। पूर्व र भावी राष्ट्रपतिलाई जेल पठाउने आफ्नो मनाशय नरहेको पनि उनले बताएका छन्। ट्रम्प कुनै पनि अपराधमा दोषी ठहरिने पहिलो पूर्व राष्ट्रपति हुन्। सन् २०१६ को चुनावको पूर्वसन्ध्यामा पोर्न स्टार स्टर्मी डेनियललाई चुप लाग्न पैसा तिरेकोमा ३४ वटा मामिलामा ३४ मेमा ट्रम्पलाई दोषी ठहर गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।