काठमाडौं– आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको भागबण्डा मिलाउन गठित कार्यदल ‘सहमति नजिक’ पुगेको छ। अब भोलि (मंगलबार) बस्ने कार्यदलको बैठकबाट सिट बाँडफाँटको टुंगो लाग्ने कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सिट बाँडफाँट र त्यस पछिको अवस्थाका बारेमा छलफल भएको मन्त्री कार्कीको भनाइ छ। बैठकमा सिट बाँडफाँटको आधारबारे छलफल भएको तथा निष्कर्ष नजिक पुगेको र भोलि (मंगलबार) बैठक बसेर टुंग्याइने कार्कीले बताए।
कार्यदलमा कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।