काठमाडौं– स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न नेकपा माओवादी केन्द्रले गठन गरेको समितिले सोमबार प्रतिवेदन बुझाएको छ।
समितिका संयोजक टंक राईले पार्टी कार्यालय पेरिसडाँडा सोमबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रतिवेदन बुझाए।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न भन्दै माओवादी केन्द्रले पार्टीको अनुशासन विभागका संयोजक समेत रहेका राईको नेतृत्वमा असार २५ गते छानबिन समिति गठन गरेको थियो। समितिमा मक्ति प्रधान र खिमलाल देवकोटा सदस्य थिए।
स्थानीय तहको निर्वाचनपछि बसेको केन्द्रीय समितिको बैठकमा नेताहरुले केन्द्रीय सदस्यहरुले नै चुनावमा पार्टीका उम्मेदवारलाई अहसयोग गरेको तथा अन्तर्घात गरेको कुरा उठेपछि स्थायी समितिको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।
सोमबार छानबिन समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्डले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताए।
पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको प्रचण्डको भनाइ थियो। राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिस्ट पार्टी जस्तो नरहने प्रचण्डको भनाइ थियो।
‘यो कुरा कुनै खास ठाउँमा भएका अनियमितता वा गढबडीहरुलाई सच्याउने कुरासँग मात्रै सम्बन्धित छैन। यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने विषयसँग बढी सम्बन्धित छ। त्यसकारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरुलाई दण्डित गर्ने यो प्रक्रिया अगाडी नबढाउने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो रहँदैन,’ प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।