फाइल तस्बिर।
काठमाडौं– प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य गिरिको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो।
गिरिको शनिबार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। उनको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो।
गिरि नेपाली कांग्रेस पार्टीबाट २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यस्तै २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए भने २०७४ मा सिरहा जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मंगलबार बिहान १० बजे बस्नेगरी बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।