दोलखा– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशभित्रका सबै जिल्लामा बाँदर नियन्त्रणका लागि प्रदेश सरकारले विशेष कार्यक्रमसमेत सञ्चालन गर्ने बताएका छन्।
कृषकहरुलाई बाँदरले दुःख दिएको भन्ने सबैतिरबाट गुनासो आएका कारण कार्यक्रम नै ल्याएर नियन्त्रण गर्ने आश्वासन दिएका हुन्।
जिल्ला समन्वय समिति दोलखाले चरिकोटमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले दोलखाको सबै स्थानीय तहका लागि पक्की भवन निर्माण गर्न तथा बाढीपहिरोले जिल्लामा पुर्याएको क्षतिको विवरण प्रदेश कार्यालयमा पठाउन समेत निर्देशन दिए।
नागरिकहरुको समस्याको विषयमा चिन्तित् बनी राष्ट्रिय हितमा काम गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई निर्देशन दिएका छन्। पहिरो तथा बाढीपीडितहरुलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे।
मुख्यमन्त्री पाण्डेले समृद्ध प्रदेश निर्माणका लागि प्रत्येक वडामा वडा समाजवादी कार्यक्रम लागू गर्ने, शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा रहेका व्यक्तिलाई सहज तरिकाले सेवा प्रवाह गराउने, जातीय र धार्मिकलगायत विभेदको अन्त्य गरिने, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी प्रर्यटन प्रर्वद्धन गरिने, स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्ने जस्ता कार्यहरु बागमती प्रदेश सरकारले अघि सारेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।