काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपालले महंगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ। शनिबार ललितपुर जिल्ला कार्यसमितिले लगनखेलबाट निकालेको विरोध जुलुश जावलाखेलमा पुगेको आमसभामा परिणत भएको थियो।
महंगी, भ्रष्टाचार, लूटतन्त्र र बेरोजगारीको अन्त्यको जोडदार माग गर्दै जुलुसले बढ्दो धर्मान्तरणलाई रोक्नका लागि सरकारसॅग माग गरेको छ। देशको अन्तर्राष्ट्रिय पहिचानका लागि सनातन हिन्दूराष्ट्र पुनर्स्थापनाको नारा लगाउॅदै जुलुस चुनावी अभियानमा परिणत भएको आमसभामा अध्यक्ष कमल थापाले बताए।
उनले आमसभालाई सम्बोधन गर्दै भने, ‘राप्रपा नेपालका २५ सदस्यले संविधानसभामा जोडबल गरेर अपरिवर्तनीय संविधानको प्रारम्भिक मस्यौदालाई परिमार्जन गराई संविधानभित्रैबाट राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको बाटो र ३ तहको संघीय प्रणालीको खारेजी गर्ने संवैधानिक मार्ग प्रसस्त गराएको हो, यसका लागि हामीबाहेक अरू कसैको दाबाब गर्ने आधार छैन।’
अध्यक्ष थापाले संविधानलाई परिवर्तनीय गराउने महत्वपूर्ण काम राप्रपा नेपालले गराएको हो भन्ने कुरालाई ध्यानमा राखेर आउॅदो चुनावमा राप्रपा नेपालका उम्मेदवारहरूलाई मत दिन ललितपुरका सर्वसाधारणलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।