काठमाडौं– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीको विधानअनुसार पार्टी निर्माणमा सबैलाई समेटेर लैजाने बताएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा शनिबार बसेको स्थायी कमिटी बैठकले उनलाई महासचिव चयन गरेको हो।
महासचिवमा चयन भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले अध्यक्ष र पार्टी विधानले दिएको जिम्मेवारी निभाउन आफू हरदम तयार हुने बताए। उनले महासचिवको भूमिका प्रशासकीय प्रमुखको जस्तो भएको भन्दै त्यो भूमिका निभाउन आफू तयार रहेको बताएका हुन्।
महासचिवका लागि मुख्यगरी वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका थिए। तर, गुरुङले भने दाबी गरेका थिएनन्। सोही कारण पनि आफूलाई अध्यक्षले महासचिवको जिम्मेवारी दिएको गुरुङको भनाइ छ।
उनले भने, ‘कम्युनिष्ट पार्टीमा टिम बनाउने अधिकार अध्यक्षको हो। उहाँलाई अधिकार छ। मैले पहिलेदेखि नै भन्दै आएको थिएँ, पार्टीमा पद दाबी गर्ने कुरा होइन। मैले मागिनँ पनि। अध्यक्षले जुन विश्वास गरेर मलाई जिम्मेवारी दिनुभएको छ। त्यो पूरा गर्छु। अध्यक्ष र पार्टीले दिएको जिम्मेवारीप्रति सबैलाघ हार्दिकता प्रकट गर्दछु।’
उनले आफू पार्टी र संगठन निर्माणमा लागि पर्ने बताएका छन्। आफ्नो भूमिका अध्यक्षले दिएको निर्देशन कार्यान्वयन गर्ने र विधान अनुसार सहजीकरण गर्ने भएकाले सोही अनुसार गर्ने बताए। महासचिव प्रशासकीय जिम्मेवारी भए पनि एक्लैले गर्न नसकिने भन्दै पार्टीमा सम्पूर्ण जिम्मेवारी पूरा गर्नका लागि सबैको साथ आवश्यक रहेको उनले बताएका छन्।
उनले पार्टीमा विचार व्यक्त गर्ने कुरामा भिन्नता आए पनि गुटबन्दी रहेकोबारे अस्वीकार गरे। उनले भने, ‘स्वभाविक रुपमा विचार व्यक्त गर्दा भिन्नता हुन्छ नै। तर पार्टीभित्र गुट–उपगुट छन् जस्तो मलाई लाग्दैन।’
उनले विशेष महाधिवेशनका लागि मात्रै जिम्मेवारी दिइएको भन्ने प्रश्नमा पार्टीमा कोही पनि स्थायी भूमिकामा नहुने बताए। उनले विभिन्न परिस्थिति अनुसार चलायमान हुनुपर्ने भएकाले कुन अवधिसम्मका लागि हो भन्ने कुराले आफूलाई फरक नपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।