गुल्मी– गुल्मीको मालिका गाउँपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। आगामी शैक्षिक सत्रदेखि आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने गाउँपालिकाको तयारी छ।
स्थानीय वस्तुचित्र प्रष्ट झल्कने गरेर स्थानीय पाठ्यक्रम लागू गर्नका लागि मस्यौदा प्रस्तुतीकरण र सुझाव संकलन गोष्ठी गरिएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए।
‘हामीले स्थानीय स्तरको वस्तुचित्रलाई स्पष्ट पाठ्यपुस्तकमार्फत् बालबालिकालाई चिनाउने कोसिस गरेका छौं’, गाउँपालिका अध्यक्ष अर्यालले भने, ‘ग्रामीण भेगका महत्त्वपूर्ण कुरा नछुटाउन सरोकारवालासँग गोष्ठी गरिएको हो।’
गाउँपालिकाका अध्यक्ष अर्यालले मस्यौदामा छुटेका कुरा समेटेर उत्कृष्ट पाठ्यक्रम लागू हुने बताए। आगामी शैक्षिक सत्रको सुरुवातमा सबै विद्यार्थीको हातहातमा स्थानीय पाठ्यपुस्तक पुग्ने उनले बताए।
गाउँपालिकाले शिक्षा शाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा तयारी समिति गठन गरेको थियो। समितिले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा स्थानीय कला, संस्कृति, रीतिरिवाज, चालचलन, मेलापर्व, कृषि, पशुपालन, पर्यटन क्षेत्र, प्राविधिक शिक्षा, गाउँपालिकाको भूगोल, चिनारी, परम्परागत महत्त्व झल्काउने वस्तु र समाजमा योगदान गर्ने व्यक्तिलगायत सबैलाई समेटेर पाठ्यपुस्तक तय गरेको छ। त्यसमा सरोकारवालाहरुले दिएको सुझाव समेटेर अझै लाभदायी पाठ्यक्रम र त्यहीअनुरुप पाठ्यपुस्तक तय गर्ने गाउँपालिकाले जनाएको छ।

समितिले गरेको प्रस्तुतीकरणमा सरोकारवालाहरुले विभिन्न सुझाव पेस गरेका थिए। गोष्ठीको प्रमुख अतिथिको रुपमा स्थानीय तहको पहिलो कार्यकालमा स्थानीय पाठ्यक्रम लागू गरेको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले लुम्बिनी प्रदेशमा पहिलो शिक्षा ऐन आफूहरुले बनाएको, स्थानीय शिक्षकलाई नै जिम्मा दिएको, व्यावहारिक शिक्षालाई जोड दिएको र स्थानीय पाठ्यक्रमको प्रभाव निकै रहेको बताए।
एकीकृत पाठ्यक्रमको उद्देश्यअनुरुप अध्यापन र अध्ययन हुन आवश्यक रहेको धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेलले बताए। ‘पाठ्यपुस्तक लेख्ने कुरामा सबै समेट्न आवश्यक रहेकोले धेरै मिहिनेत गरेर सबै जुट्नु आवश्यक छ’, पोखरेलले भने, ‘स्थानीय वस्तुचित्र स्पष्टसँग बुझिने गरेर पाठ्यपुस्तक निर्माण हुनुपर्छ।’
पोखरेलले सिङ्गो समाज र सबै बालबालिकालाई नैतिकवान बनाउन स्थानीय पाठ्यपुस्तकको निकै आवश्यक रहेको समेत बताएका थिए। मस्यौदा प्रस्तुतीकरण र सुझाव संकलनमा मालिका गाउँपालिका अन्तर्गतका विद्यालयका प्रध्यानाध्यापक तथा प्रतिनिधि, पत्रकार, जिल्लास्थित विभिन्न विद्यालयका प्रमुख, क्याम्पस प्रमुख, गाउँपालिका सम्पूर्ण जनप्रतिनिधि लगायत सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।