काठमाडौं– नागरिकता विधेयक पारित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको विधेयकमा छलफल गर्दै प्रतिनिधि सभामा बहुमतले पारित भएको हो।
राष्ट्रपति भण्डारीले विभिन्न नौ बुँदामा पुनर्विचार गर्न प्रतिनिधि सभालाई सन्देश पठाए पनि कुनै संशोधनबिना पारित भएको छ। प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले संशोधन गर्न माग गरेका थिए भने सत्तापक्षकै केही सांसदले केही बुँदामा फेरबदल गर्नुपर्ने माग गरेका थिए।
फिर्ता आएको विधेयकमा सांसदहरुले बिहीबार दिनभर छलफल गरेका थिए। सांसदहरुको धारणापछि गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएका थिए।
गृहमन्त्रीको जवाफपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पारित गर्ने क्रम अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनबाट मात्र निर्णय गर्नुपर्ने माग गरेको थियो।
१३५ सांसद पक्षमा
जम्मा १९५ सांसद उपस्थित भएकाेमा नागरिकता विधेयक पारित गर्ने पक्षमा १३५ सांसदले मत दिएका थिए भने विपक्षमा ६० सांसदले मत दिएका थिए।
उपस्थित सांसदको बहुमतले पक्षमा मतदान गरेपछि सभामुख सापकोटाले विधेयक पारित भएको जानकारी गराए। अब उक्त विधेयक संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा पठाइने छ। राष्ट्रिय सभावाट पारित भएपछि पुन: राष्ट्रपतिकहां प्रमाणीकरणका लागि पठाइने छ। यस पटक राष्ट्रपतिले फिर्ता पठाउने पाउने छैनन्।
बुधबार नै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर हुबहु पारित गर्ने निर्णय गरेको थियो। संसद्को अधिकार संकुचन गरिएको भन्दै नेकपा एमालेले विरोध जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।