काठमाडौं- नेकपा माओवादी केन्द्रकी सांसद रामकुमारी चौधरीले दुई–दुई पटक संसद् विघटन गर्दा राष्ट्रपतिको विवेक कहाँ थियो? भन्दै प्रश्न गरेकी छन्। आफूले राष्ट्रपतिलाई सम्मान गर्न चाहेको पनि उनको भनाइ छ। तर राष्ट्रपति साझा हुनुपर्ने उनले बताइन्।
'हाम्रो पनि राष्ट्रपति हुनुपर्छ। साझा राष्ट्रपति हुनुपर्छ। कुनै पार्टीको होइन, राष्ट्रको राष्ट्रपति हो उहाँ। दुई–दुई पटक संसद् विघटन गर्दा राष्ट्रिय सहमति नचाहिने रहेछ। रातारात सही गरेर पठाउने। संसद् विघटन गरिदिने। नागरिकता नपाएर आज लाखौं युवा बेरोजगार बसेका छन्। रोजगार र शिक्षाबाट वञ्चित भएका छन्। ती नेपाली नागरिकलाई नागरिकता दिऔं भन्दा गलत भयो भन्न मिल्छ?', बिहीबार प्रतिनधि सभा बैठकमा नागरिकता विधेयकमाथि छलफलका क्रममा उनले भनिन्।
राष्ट्रिय सहमतिले ल्याइएको २०६३ सालको नागरिकता विधेयकलाई अहिले दुवै सदनले पारित गरेर पठाउँदा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरेको उनको भनाइ छ। राष्ट्रपतिले फिर्ता पठाउन भने पाउने उनले बताइन्। 'तर उहाँले जुन सन्देश पठाउनुभएको छ। यो सन्देश हो कि प्रतिपक्षको चुनावी घोषणापत्र हो?', उनले प्रश्न गरिन्।
उनले प्रतिपक्षी दलले राष्ट्रपतिलाई 'मेरो राष्ट्रपति' बनाउन खोजेको आफूलाई आभाष भएको उनले बताइन्। उनले सदनमा नागरिकता विधेयकमाथि छलफल भइरहेको छ कि राष्ट्रपतिले पठाएका सन्देशमाथि? भन्ने प्रश्न गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।