काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत् र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गरेका छन्।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा आएका उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी/व्यवसायीबीचको अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले नेपालको जलविद्युत्, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन्।
उनले नेपाल दुई ठूला र उदीयमान अर्थतन्त्रको बीचमा रहेको हुनाले नेपालको रणनीतिक स्थानले पर्याप्त बजार र लगानीको अवसर प्रदान गरेको बताए।
‘हामी दुई ठूला र उदीयमान अर्थतन्त्रका बीचमा छौं। भारत, चीन, ईयू र आंशिक रूपमा अमेरिकामा पनि नेपाली सामानलाई भन्सारमा सहुलियत छ। यहाँ लगानी गर्ने अधिकांश बहुराष्ट्रिय कम्पनीहरूले राम्रो नाफा कमाएका छन्,’ उनले भने।
उनले नेपालको भारतसँग विशेष ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउँदै भारतीय व्यापारी समुदायलाई नेपाली व्यापारी समुदायसँग पनि व्यापार सम्बन्ध विस्तार र सुदृढ गर्न आग्रह गरे।
‘यस भ्रमण दलका प्रतिनिधिहरुबाट नयाँ स्तरको सहकार्यको थालनी गरेर व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रयास गरौं। सबैजना सदस्यले एक–एक वटा व्यवसायमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरौं,’ उनले भने, ‘नेपाल र भारतबीच व्यापारिक सम्बन्धको प्रचुर सम्भावना छ। भ्रमण दलका प्रतिनिधि र नेपाली व्यापारी समुदायबीचको आजको अन्तरक्रियाले व्यावसायिक सहयोग मूर्त परियोजनामा परिणत हुनेमा म विश्वस्त छु।’
ढकालले नेपालले भारतसँगको व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ गर्दै भारतको आपूर्ति र मूल्य शृङ्खलालाई एकीकृत गरी दुवै देशले एक अर्काबाट फाइदा लिन सक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।